माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत लिने पूर्वसन्ध्यामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रिय सहमतिको सरकारको पक्षमा देखिएका छन् । पौडेल र भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूबीच राष्ट्रिय सहमतिको आवश्यकता औँल्याएका हुन् ।
नेसपाको आइतबार बसेको राजनीतिक समिति बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले पेस गरेको ११ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा देशको प्रमुख आवश्यकता आधारभूत विषयमा राष्ट्रिय सहमति भएको औँल्याइएको छ । राष्ट्रिय सहमतिको सरकार बनाउन सक्दा देश र जनताका लागि सबैभन्दा उत्तम हुने भट्टराईको प्रस्ताव छ ।
वाम–लोकतान्त्रिक गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्दा नकारात्मक सन्देश गएको पनि भट्टराईले औँल्याएका छन् । राजनीतिक अस्थिरता भई सुशासन, विकास र समृद्धिको यात्रामा अवरोध आउन सक्ने चिन्ता भट्टराईको छ । निर्वाचनमा जित–हारभन्दा विचार, सिद्धान्त र एजेन्डाप्रतिको समर्पण मुख्य भएको उनको विश्लेषण छ ।
यस्तै, पौडेलले वर्तमान परिस्थितिमा राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन् । राष्ट्रलाई संकटबाट जोगाउन सबै मिलेर अगाडि बढ्नुपर्ने पौडेलको सुझाव छ । ‘श्रीलंका र पाकिस्तानको संकट हामीले देख्यौँ । नेपालमा पनि राजनीतिक–आर्थिक संकट देखिन थालेको छ । यस्तो अवस्थामा सबै मिलेर राष्ट्रलाई जोगाउनुपर्छ भनेको हुँ । मैले रणनीतिक रूपमा बोलेको होइन,’ उनले भने, ‘कुनै पार्टीको उद्देश्यले बोलेको पनि होइन । परिस्थितिलाई भिजुलाइज मात्रै गरेको हुँ । संकटबाट नेपाली जोगिएर बस्नुपर्छ, सबै मिलेर जाऔँ भनेको हुँ ।’
राष्ट्रिय सहमतिको आवश्यकता सबैले महसुस गर्न थालेको पौडेलको बुझाइ छ । उनले भने, ‘डा. बाबुराम भट्टराईले राजनीतिक दस्ताबेजमा राष्ट्रिय सहमतिको विषय उठाउनु राम्रो पक्ष हो । विभिन्न दलका नेताहरूबाट पनि यो विषय आउन थालेको छ । यसलाई सकारात्मक रूपमा हेर्नुपर्छ ।’ कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने–नदिनेबारे निर्णय लिइसकेको छैन । दलको बैठकमा बृहत् छलफल भए पनि विश्वासको मत लिने दिन बिहान निर्णय गर्ने कांग्रेसको तयारी छ । नया पत्रिकाबाट सभार











