काठमाडौँ, २४ पुस। नेकपा एमालेससहितको दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विश्वासको मत लिन दुई दिन मात्रै बाँकी रहदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दाहासँग भेट गरेका छन् ।
आइतबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग नेपाल र यादवले भेट गरेका हुन् । भेटपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भेटमा दुई राजनीतिक दलहरू सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताए ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको र पुनः छलफलबाट निष्कर्षमा पुग्ने बताएका छन् । प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिँदै्रेुछन् । नेपाली काग्रेसले राप्रपाका नेता राजेन्द्र लिङ्देललाई प्रधानमन्त्रीको प्रस्ताव राख्दै दाहाललाई समर्थन गरेका केही दललाई छुट्याउन खोजेपछि दाहाललाई विश्वासको मत लिन सहज नभएको विश्लेषण भइरहेको छ ।











