काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन्।
प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटार र ओलीसँग बालकोटस्थित निवासमा पुगेर भेट गरेको उनको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको छ । भट्टराई नेतृत्वको समाजवादी पार्टी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर होमिएको थियो।
उनको पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिन्द्र राय यादव र प्रदेशसभातर्फ वागमतीमा गंगानारायण श्रेष्ठ र गण्डकीमा फणीन्द्र देवकोटा निर्वाचित भएका छन्।
संघ र प्रदेश सरकारमा आफ्ना सांसदको व्यवस्थापनका लागि भट्टराईले प्रचण्ड र ओलीसँग संवाद गरेको स्रोतले जनाएको छ।











