काठमाडौं, १५ पुस । फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । २९ नोभेम्बरमा अस्पताल भर्ना भएका पेलेको उपचारका क्रममा अस्पतालमै निधन भएको हो ।
गत महिना नियमित चेकअप गर्न पेले अस्पताल पुगेका थिए । त्यहाँ नै उनको स्वास्थ्य अवस्था बिस्तारै बिग्रँदै गएको थियो । पेलेको स्वास्थ्यमा कुनै सुधार नआएपछि अस्पतालले उनलाई आइसियूमा राखी उपचार गरेको थियो । आइसियूमा पनि केही सुधार नआएपछि उनलाई विशिष्ट प्रविधियुक्त कक्षमा राखी उपचार गरिएको थियो ।
ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका पेलेको किड्नी तथा मुटुमा समस्या रहेको थियो । पेले क्यान्सरबाट पनि ग्रसित थिए । फुटबलको महान खेलाडीका रुपमा रहेका उनलाई कालोमोती भनेर पनि चिनिन्थ्यो । उनको जन्म ब्राजिलको ट्रेस कोराकोस भएको थियो ।











