काठमाडौं, १४ पुस । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच शक्ति बाँडफाँडबारे प्रारम्भिक समझदारी बनेको छ । जसअनुसार प्रदेशमा एमालेले चार र माओवादीले दुईवटा मुख्यमन्त्री लिने समझदारी भएको हो ।

स्रोतका अनुसार एमालेले प्रदेश १, गण्डकी तथा बागमती, कर्णाली र लुम्बिनीमध्ये दुईवटा प्रदेशको मुख्यमन्त्री लिनेछ भने माओवादीले सुदूरपश्चिम तथा कर्णाली, बागमती र लुम्बिनीमध्ये एक प्रदेशको नेतृत्व लिने समझदारी भएको छ ।
मधेसमा भने जसपा र जनमत पार्टीको दाबी रहेकाले उनीहरूलाई आलोपालो गर्ने गरी समझदारीमा आउन प्रस्ताव गर्ने तयारी छ । त्यस्तै, संघीय सरकारमा एमालेले नौदेखि १०, माओवादीले पाँचदेखि सात मन्त्रालय लिनेछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई बढीमा तीन, राप्रपा र जसपालाई दुई–दुई तथा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई एक–एक मन्त्रालय दिने समझदारी बनेको स्रोतको भनाइ छ । कुन दलले कति र कुन–कुन मन्त्रालय पाउने विषयमा आज बिहीबार बालुवाटरमा बस्ने सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठकमा विस्तृत छलफल हुने बताइएको छ ।