प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दाबी गरेका छन् ।

कांग्रेस जस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रचण्डले ७ वटा राजनीतिक पार्टीहरूलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उनको तर्क थियो । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा विश्वकर्माले ३० दिनभित्र विश्वास मत लिए २ वर्षसम्म सरकार चल्ने बताए ।

‘प्रचण्डजीले आफूलाई केन्द्रमा राखेर कांग्रेस जस्तो लचिलो पार्टी त मिलाउन सक्नुभएन भने यी सबै दलहरू कसरी मिल्लान् ? र, मिलेनन् भने हामीले चाहेको राजनीतिक स्थायित्व आउँछ कि आउँदैन ? राजनीतिक स्थायित्व आउनलाई निकै कठिन छ,’ विश्वकर्माले भने, ‘३० दिनभित्रको विश्वासको मतसम्म यो सरकार कसरी पुग्छ ? त्यसैले ३० दिन कट्यो भने सरकार राम्ररी २ वर्ष जान्छ । यो सरकार पनि ३० दिन बाँच्यो भने यसलाई केहीले छुनेवाला छैन २ वर्षसम्म ।’

संघीयता नै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आउ भन्ने राप्रपालगायतका राजनीतिक दलहरू रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने उनको भनाइ छ ।

‘भर्खरै सुनेँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले हाम्रा पनि केही सर्तहरू छन् । ती सर्त पूरा हुने लक्षण देखिए मात्रै सरकारमा जान्छौँ । उहाँहरूको राजा आऊ, देश बचाऊ होला । यसैगरी फेरि राष्ट्रिय स्वतन्त्र पार्टी त सरकारमा गइहाल्यो । उहाँहरूले प्रदेशमा उम्मेदवारी उठाउनु भएको छैन । किनभने उहाँहरूलाई प्रदेश सरकारप्रति विश्वास छैन । संघीयताप्रति भरोसानै छैन,’ विश्वकर्माले भने, ‘राप्रपालाई गणतन्त्रप्रति विश्वास छैन । अनि अरू दलहरू पनि त्यस्तैत्यस्तै क्षेत्रीय दलहरू छन् । ती सबै दलहरूलाई मिलाएर लिएर जानलाई यसको जिम्मेवारी त फेरि पनि प्रचण्डजीमै जान्छ ।’