इन्द्रेणी संवाददाता
जाजरकोट, ३० चैत ।
जिल्ला प्राविधिक कार्यालय जाजकोटका प्रमुख ईन्जिनियर जयराम श्रेष्ठलाई विप्लव माओवादी कार्यकर्ताले कालो मोसो दलेका छन् । योजना निर्माण तथा कार्यालयका अन्य काममा भ्रष्टाचार गरेको आरोप लगाउँदै श्रेष्ठको कार्यकक्षमै पुगेर उनीहरुले कालो मोसो दलेका हुन् ।
भ्रष्टाचारीलाई देशभरी नै जनकारवाही गर्ने पार्टीको नीति अनुसार ईन्जिनियर श्रेष्ठलाई जनकारवाही गरिएको विप्लव माओवादीका भेरीकर्णाली ईन्चार्ज गगनबहादुर खड्का जीवनले वताउनुभयो । उहाँले ईन्जिनियर श्रेष्ठले जिल्लाका विभिन्न आयोजनामा कमिसन खाने गरेको आरोप लगाउनुभयो ।
चार÷पाँच जनाको समुहमा सेवाग्राही बनेर ईन्जिनियरको कार्यकक्षमा गएका माओवादी कार्यकर्ताले आइतबार दिउसो श्रेष्ठलाई कालो मोसो दलेको प्रहरीले जनाएको छ । उता निजामति कर्मचारीहरुका पेशागत संगठनहरुले संयुक्त विज्ञप्ती निकाल्दै माओवादीको उक्त क्रियाकलापको घोर भत्सर्णा गरेका छन् । नेपाल निजामति कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठठन र नेपाल निजामति कर्मचारी संगठनले संयुक्त विज्ञप्ती निकालेर माओवादी क्रियाकललापको कडा विरोध गरिएको छ ।।