दाङ, ७ साउन ।
ब्लडक्यान्सर पीडित पत्रकार अर्जुन महराको उपचारका लागि सहयोग गर्ने क्रम शुरु भएको छ । १० हजार जम्मा गरेर नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार अर्जुन महरा बचाउ अभियान शुरु गरेसँगै विभिन्न क्षेत्रबाट सहयोग रकम संकलन हुन थालेको हो ।पत्रकार महराको उपचारका लागि घोराहीस्थित रेडियो मध्यपश्चिम एफएमले रु. १० हजार, लमहीस्थित रेडियो हाइवे एफएमले रु. १० हजार र महिला मानवअधिकार रक्षक सञ्जाल दाङले रु. ५ हजार सहयोग गरेका छन् ।arjun

यसैगरी दाङ जिल्ला उद्योग वाणिज्य संघले रु. ५ हजार, अध्यक्ष हेमराज बञ्जाडेले रु. १ हजार र ओरेक नेपाल दाङले ब्लडक्यान्सर पीडित महरालाई ३ हजार रुपैयाँ सहयोग गरेको महासंघले जनाएको छ ।बोनम्यारोमा क्यान्सर देखिएका पत्रकार महरा हाल काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचार गराइरहेका छन् ।

न्यून पारिवारिक आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई भएकाले नेपाल पत्रकार महासंघ दाङल पत्रकार अर्जुन महरा बचाऊ अभियान सञ्चालन गरेको हो । यसैबीच पत्रकार महराको जीवनरक्षाका लागि आर्थिक सहयोग गरिदिन नेपाल पत्रकार महासंघ दाङका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यले सबैलाई आग्रह गर्नुभएको छ ।

सहयोगका लागि कार्यालय समयमा नेपाल पत्रकार महासंघ दाङ शाखाको फोन नं. ०८२–५६१४९७ वा कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यको फोन नं. ९८५७८३०३६३ मा सम्पर्क गर्न सकिने महासंघले जनाएको छ ।।