काठमाण्डौ, ७ साउन
नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघका नेताहरुले संगठनभित्रको विवाद सुल्झाएरमात्र महाधिवेशन गर्न माग गरेका छन् । विवाद समाधानको सुनिश्चितता नभए आइतबार देखि उनीहरुले पार्टी केन्द्रीय कार्यालयमा रिले अनसन बस्ने भएका छन् । नेविसङ्घ विधिवत महाधिवेशन पक्षधरका नेताहरुले शुक्रबार रिपोर्टर्स क्लब पत्रकार सम्मेलन गरी विवाद समाधान गर्न माग गरेको हो । संघका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेले भागवण्डाका आधारमा महाधिवेशन गर्दा सङ्गठन कमजोर हुने भन्दै विवाद रहेका जिल्लालाई तत्काल टुङ्ग्याएर महाधिवेशन गर्न आग्रह गरे ।Nebi-Sangh

आगामी महाधिवेशनका अध्यक्षका प्रत्यासी समेत रहेका उनले विधिसम्मत महाधिवेशन गर्न नेविसंघ केन्द्रीय समिति र पार्टीले आफ्नो मागको सुनुवाई नभए आगामी आइतबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशन बस्ने घोषणा गरे । काफ्लेले आगामी तीन दिनसम्म पनि आफ्ना मागहरु सुनुवाई नभए आमरण अनशन बस्ने चेतावनीसमेत दिए ।

नेविसङ्घका पूर्व केन्द्रीय सदस्य बलदेव तिमल्सेनाले बिभिन्न बहानामा महाधिवेशन टार्न खोजिएको आरोप लगाए । उनले भने, ‘विधि र प्रक्रियालाई टेक्नुभन्दा खल्तीबाट झिकेर नेविसङ्घको महाधिवेशन प्रतिनिधी बनाइएको छ यो राम्रो कुरा होइन ।’

कार्यक्रममा विवाद समाधान समितिका सदस्य जीत शेरचन, नेविसङ्घ पूर्व केन्द्रीय सदस्य नेता कृष्णकुमारी बस्नेत, युवराज पाण्डे, गणेश सापकोटालगायतले ११ जिल्लामा दुईवटा अध्यक्ष भएको वर्तमान समयमा नेविसङ्घको महाधिवेशन हुन नसक्ने स्पष्ट पारे ।।