
बनेपा, २९ मंसिर । प्रधानमन्त्री एवम् काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताए ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उनले काठमाडौं विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सृजनशील र क्षमतावान् जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउँदै आएको बताए ।
“विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरूमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पुर्याउने पवित्र शैक्षिक केन्द्र हो”, प्रम देउवाले भने, “विश्वविद्यालयहरू राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्दछ।”









