काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन् ।

निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिनाहा गर्न निवेदन दिएका थिए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘जरिवाना मिनाहाका लागि निवेदन आएको सुन्यौँ तर उहाँको आग्रह निर्वाचन आयोगको क्षेत्राधिकारबाहिरको विषय हो ।’

उक्त निवेदन आयोग पदाधिकारीको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको आयोग स्रोतको दाबी छ । काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले आयोगमा पठाएको निवेदनको व्यहोराबारे आयोग स्रोतले भनेको छ, ‘निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनलगायतका कार्यमा व्यस्त हुनुपरेकाले समयसीमाभित्र खर्च बुझाउन सकिएन ।’

उनले समयसीमा समाप्त भएको भोलिपल्टै खर्च विवरण बुझाएको उल्लेख गरेका छन् । जिल्ला निर्वाचन कार्यालय, काठमाडौँको अभिलेखबमोजिम शाहले असार १२ गते खर्च विवरण बुझाएका छन् । जेठ १२ गते काठमाडौँ महानगरपालिकाको प्रमुख पदको नतिजा सार्वजनिक भएको थियो । त्यसअघि शाहले सामाजिक सञ्जालमा निर्वाचन खर्च विवरण आयोगले तोकेको ढाँचामा नै सार्वजनिक गर्नुभएको थियो ।