काठमाडौं, २७ मंसिर । नेकपा एमालेलाई निर्वाचन आयोगले समानुपातिकतर्फको सूची सच्याउन आज पुनः पत्राचार गर्ने भएको छ ।
मङ्सिर २४ गते समानुपातिकतर्फको बन्दसूचीको उम्मेदवार छनोट गरी एमालेले पठाएको सूची त्रुटिपूर्ण रहेकाले सच्याउन भन्दै पत्राचार गरेकोमा सोमवार एमालेले पुनः त्यही सूची पठाएपछि आयोगले आज दोस्रो पटक पत्राचार गर्न लागेको हो । आयोगले एमालेलई सूची सच्याउन दुई दिनको समयसीमा दिएको थियो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले यसअघि बुझाएको बन्दसूचीमा फेरबदल गरी बुझाए पनि एमालेले पुरानै सूचीलाई निरन्तरता दिएको छ । यसबारेमा आयोगले हिजो सोमवार बेलुका छलफल गरेको छ । छलफलका आधारमा आज पत्र पठाउने तयारी भैरहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले एमालेले आज निर्धारित समयभित्र त्रुटि सच्याएर नपठाए अन्य दलको उम्मेदवारलाई निर्वाचित भएको घोषणासहित प्रमाणपत्र दिने तयारीसमेत गरेको छ । यता नेकपा एमालेले भने आफूले पठाएको सूची क्रमअनुसारै रहेको दाबी गरेको छ ।











