घोराही, २४ मंसिर । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले छ जना साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रलेसले आगामी पुस ३ गतेका दिन ३० औं स्थापना दिवसका अवसरमा छ जना साहित्यकारलाई पुरस्कृत र एकजना राजनीतिज्ञलाई सम्मान गर्ने भएको छ ।

प्रलेसले गठन गरेको प्रतिभा छनौट समितिको शुक्रबार बसेको बैठकले गरेको निर्णय अनुसार यस बर्षको प्रगतिशील साहित्य पुरस्कार प्रलेस दाङका संस्थापक सदस्य सुन्दर गौतमलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष भुवन देवकोटाले जानकारी दिएका छन् ।

यसैगरी पद्मप्रसाद शर्मा र शान्ता देवि अधिकारीले स्थापना गर्नुभएको अनन्त टिका प्रतिभा पुरस्कार डा. विन्दु शर्मालाई, रामप्रसाद जैसी र नारदमणि पोख्रेलले स्थापना गर्नुभएको चिन्तामणि जमुना साहित्य पुरस्कार टिकाराम रेग्मीलाई प्रदान गरिने भएको छ ।

छनौट समितिका संयोजक पुरुषोत्तम खनालले दिनुभएको जानकारी अनुसार ऋषिराज जंगलीले स्थापना गर्नुभएको लिला, फना बसन्ता श्रष्टा सम्मान साहित्यकार पद्मप्रसाद शर्मालाई प्रदान गरिने भएको छ । यसैगरी भक्तिराम ज्ञवालीले स्थापना गर्नुभएको गोविन्द ज्ञवाली साहित्य पुरस्कार दुर्गादवी अधिकारीलाई र श्याम चिसले स्थापना गर्नुभएको गोविन्द चिस सर्जक पुरस्कार श्रीधर भावुकलाई प्रदान गरिने भएको छ ।

प्रतिभा छनौट समितिका अनुसार प्रलेसले हरेक बर्ष एकजना बामपन्थी चिन्तक एवं बरिष्ठ साहित्यकारलाई सम्मान गर्दै आएकोमा यस बर्ष रश्मीराज नेपालीलाई सम्मान गर्ने निर्णय भएको छ । अधिकारी लामो समयदेखि बामपन्थी राजनीतिमा क्रिर्याशील छन् ।