
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालयलगायत संरचनाहरू नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको टिप्पणी गरेका छन् ।प्रदेशको राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेशसभाको भएपनि अहिलेको सरकारले विधि प्रक्रिया मिचेर हतारमा मन्त्रालय सार्ने निर्णय गलत भएको बताए । बुटवलमा शुक्रबार बिहान सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पौडेलले संरचना नबन्दै मन्त्रालय सार्ने गलत निर्णय भएको बताए ।
‘गलत निर्णयले गलत परिणाम निस्कन्छ, हेर्दै जानुहोला अब के हुन्छ, ‘पौडेलले भने, ‘संरचना नबन्दै तत्काल मन्त्रालय सार्ने काम गलत र त्रुटिपूर्ण छ ।’रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले आफ्नो पार्टीले जनादेशको सम्मान गर्ने भएकाले यसपटक प्रतिपक्षमा बस्ने बताएका छन् । चुनावको जनादेशले एमालेलाई बहुमत नदिएकाले प्रतिपक्षमा बस्ने बताए ।
कम्तीमा बहुमत र ठूलो पार्टी बन्छौँ भन्ने एमालेको अपेक्षा पूरा नभएको बताउँदै उनले कर्नरमा पार्न सत्तामा रहेका दलहरूले गठबन्धन गरेकाले केही सिट कम आएर दोस्रो बन्न पुगेको उल्लेख गरे ।माओवादी केन्द्र र अन्य दलसँग मिलेर सरकार गठनको प्रयास भइरहेकोबारे पत्रकारको प्रश्नमा नेता पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको दोहोर्याए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पौडेलले एमाले प्रतिपक्षमा रहेपनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजनाहरू पूरा गर्न सक्रिय भूमिका खेल्ने बताए । उनले रुपन्देहीलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र दक्ष जनशक्तिका हिसाबले मुलुककै अग्रणी र रोलमोडल जिल्ला बनाउने आफ्नो अभियानमा कमी आउन नदिने समेत बताए ।










