काठमाडौं। समानुपातिकतर्फ समेत निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै नयाँ सरकार गठनको तयारीका लागि दलहरुको कसरत जारी छ। सत्ता समीकरणको गृहकार्यमा दलहरु जुटिरहेका छन्। गठबन्धनलाई निरन्तरता दिन दलहरु सहमत रहेको बताइएपनि नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीको दाबी गरेको छ।
सत्ता गठबन्धनकै एक घटक माओवादीले सरकारमा सहभागीताको लागि आफ्नो सर्तमा यथावत रहेको जनाएको छ। उसले प्रधानमन्त्री पाए सरकारको नेतृत्व गर्ने अन्यथा सरकार बाहिरै रहने नीति दोहोर्याएको छ।सरकार गठनका सबै विकल्प खुला गरिएको बताएको माओवादीले एक दिन बित्न नपाउँदै आफ्नो घोषित नीति परिवर्तन गरेको थियो। गत शनिबार माओवादी पदाधिकारी बैठकको निर्णय सुनाउँदै प्रवक्ता कृष्णबहादुर महराले पार्टीले सरकार गठनकालागि सबै विकल्प खुला गरिएको बताएका थिए।
दुई दिनसम्म चलेको उक्त बैठककोे अर्को दिन आइतबार उक्त महराको अभ्ब्यिक्तिलाई पार्टीको आधिकारिक धारणा नभएको बताउँदै महासचिव देव गुरुङले त्रुटिवश महराको अभिब्यक्ति आएको बताए। उनले वर्तमान गठबन्धनप्रति माओवादी प्रतिबद्ध रहेको जनाएका थिए।तर, पछिल्ल्लो समय माओवादीले सत्ता सहकार्यका लागि प्रधानमन्त्रीको शर्त प्रमुखताका सात तेस्र्याएको छ। उसले प्रधानमन्त्रीको लागि तयार भए जोसँग पनि सत्ता सहकार्य गर्न सकिने बताएको हो।
उनले भने, ‘अबको सरकारको नेतृत्व माओवादीले गर्न पाउनुपर्छ। सरकारको नेतृत्व गर्न जसले दिन्छ उसैसँग गठबन्धन हुन्छ।’ उनले थप स्पष्ट पार्दै अगाडि भने, ‘जुन दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव एवं समर्थन गर्दछ सोही दलसँग नै गठबन्धन हुनुपर्छ।एकपटक पुनःसरकारको नेतृत्व गर्ने प्रचण्डको उत्कट चाहना र वर्तमान गठबन्धनको सूत्रधार भएकाले समेत अब माओवादीले प्रधानमन्त्रीको दाबी गरिरहेको स्रोतले बतायो।
कांग्रेससँग पनि छलफल जारी रहेको तर, कांग्रेस गठबन्धनकै पहिलो दल भएकाले आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने उसको माग छ। यद्यपि कांग्रेससँग अन्य सबै विषयमा सहमति जुटेपनि पहिलो कार्यकाल कसले नेतृत्व गर्ने भन्नेमा मात्रै सहमति जुट्न नसकेको बताइएको छ।
माओवादी स्रोतका अनुसार पार्टीको बटमलाइन प्रधानमन्त्री र पार्टीभित्र नेता कार्यकताको प्रधानमन्त्री नपाए सरकारमा जान नहुने मत छ। यही आन्तरिक दबावले प्रचण्ड सरकार बाहिर रहनु भन्दा प्रधानमन्त्री बन्न उद्धत छन्।माओवादीका एक पदाधिकारीका अनुसार अहिले प्रचण्ड सबैतिर छलफलमा जुटिरहेका छन्। उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालो प्रधानमन्त्रीको शर्त राखेका थिए।
आलोपालोमा सहमति जुटेपनि कांग्रेसले ठूलो दलको हैसियतले पहिलो कार्यकाल आफूले पाउनुपर्ने उसको अडान यथावत छ। उसले प्रचण्डलाई दोस्रो कार्यकालको नेतृत्व दिने अनौपचारिक प्रतिबद्धता जनाइ सकेको छ। तर, प्रचण्ड दोस्रो कार्यकाल पाइनेमा विश्वस्त हुन नसकेको स्रोत बताउँछ।
कांग्रेसलाई आफ्नो पार्टी (तत्कालीन नेकपा) सरकारमा हुँदा उक्त सरकार ढालेर प्रचण्डकै आग्रहमा देउवालाई प्रधानमन्त्री बनाइएको यथार्थता कांग्रेसले भुल्न नहुने ती पदाधिकारी बताउँछन्। यसर्थ पहिलो कार्यकाल आफूले पाउनुपर्ने ती पदाधिकारीको दाबी छ।
यदि सरकारको नेतृत्व गर्ने अवसर नआएमा गत शनिबार पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रवक्ता महराले भने जस्तै अन्य विकल्प खुला गर्न सकिने ती पदाधिकारीले बताए











