काठमाडौं :  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निलम्बन निष्क्रिय भएपछि भएको तनावका कारण आज पनि सर्वोच्चको काम कारबाही प्रभावित हुने भएको छ।

जबराविरुद्ध महाभियोग दर्ता, प्रतिनिधिसभामा छलफल, त्यसपछि महाभियोग समितिबाट पारित र प्रतिवेदनलाई नयाँ प्रतिनिधिसभामा पेस गर्न सभामुखले दिएको तोकादेशलाई निष्क्रिय पार्ने गरी संसद् सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले बुधबार जबरालाई निलम्बन निष्क्रियको पत्र दिएपछि बुधबार दिनभर सर्वोच्च अदालत प्रभावित भयो।  बिहीबार सार्वजनिक बिदा परेकाकोले आज त्यसको सम्भावित परिदृश्य देखिने भएको हो।

नेपाल बार एसोसिएसनले जबराविरुद्धको आन्दोलन ब्युँताएको छ।  जबराको राजीनामा माग्दै गत वर्ष कात्तिक दोस्रो सातादेखि आन्दोलित बारले फागुन १ मा उनीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि १०९ औं दिनमा आन्दोलन रोकेको थियो। ​ संसद् सचिवालयका महासचिव गौतमको पत्रले नयाँ परिस्थिति उत्पन्न गराएको भन्दै नेपाल बारले यही मंसिर २४ मा पोखरामा तय गरेको ४८ औं केन्द्रीय कार्यकारिणी बैठक स्थगित गरिसकेको छ।

बारले शुक्रबार पनि सर्वोच्चमा जबराको प्रवेशलाई छेक्न धर्ना दिँदै छ। बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने बारका अध्यक्ष गोपालकृण्ण घिमिरेले जानकारी दिए। अर्कोतर्फ सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका ९ पदाधिकारीले संसद्का महासचिव गौतमको पत्रलाई सर्वोच्चको संवैधानिक इजलासमा दिएको चुनौतीमाथि शुक्रबारै सुनुवाइ हुँदै छ। यो ताजा खबर मा छ