काठमाडौँ, २१, मंसिर । विदेशी मुद्रा सञ्चितिकरण घटेको भन्दै सरकारले सात महिनाअघि प्रतिबन्ध लगाइएका गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात खुलाएको छ । अहिले विदेशी मुद्रा सञ्चितिमा झिनो सुधार भएको र प्रतिबन्ध नखोल्दा राजस्व संकलनमा नकारात्मक असर परेको भन्दै पुसदेखि ती वस्तुको आयात खुलाउने निर्णय गरेको हो ।

विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख १३ देखि मदिरा, तास, महँगा मोबाइल, टीभी, मोटरसाइकललगायत १० वस्तुको आयात प्रतिबन्ध लगाएको थियो ।

भदौ १४ मा राजपत्रमा सूचना प्रकाशन गरी ६ वस्तु (चुरोट तथा सुर्ती, हीरा, टीभी, खेलौना, तास, कुरकुरे/लेज) को प्रतिबन्ध फुकुवा गरेको थियो । तर, सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थ), ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यान एवं १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात प्रतिबन्ध कायमै राखेको थियो ।