दाङ। दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः तालाबन्दी भएको छ । १०० दिनको तालाबन्दीको मारमा खेपेको विश्वविद्याल ४ महिनापछि पुन: तालाबन्दीको मार खेपेको हो ।
विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्ययनरत अयुर्बेद चिकित्सकमा स्नातक तह (बीएएमएसका) विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगको मापदण्ड अनुरुप आयुर्वेदको लागि छुट्टै उपप्राध्यापकको दरबन्दी गर्नुपर्ने, इन्टर्नसिपमा जाने विद्यार्थीले बुझाउनुपर्ने रकम विश्वविद्यालयले व्यवस्था गर्नुपर्ने, शिक्षण अस्पताल तत्काल संचालन गर्नुपर्ने लगायतका २१ बुँदे माग राखेर विश्वविद्यालयमा आइतबार तालाबन्दी गरेका छन् ।

यसअघि विश्वविद्यालयमा उपप्राध्यापक नियुक्ति लगायतको विषय माग राख्दै नेविसंघले १०० दिन तालाबन्दी गरेको थियो। वैशाख १९ गतेदेखि लगाएको ताला अदालतको अन्तरिम आदेशपछि मात्र नेविसंघले १०० दिनपछि साउन २५ गते खोलेको थियो।
आइतबार विश्वविद्यालयमा तालाबन्दी गरेका विद्यार्थीले उपकुलपति यादव प्रकाश लामिछानेको आवासमा तोडफोड समेत गरे । उपकुलपति लामिछाने विद्यार्थीको मागप्रति गम्भिर नभएको भन्दै विएएमएसका विद्यार्थीले उपकुलपतिको आवासमा तोडफोड गरेका हुन्। विद्यार्थीले उपकुलपति बस्ने निवासमा ढुंगा प्रहार गर्दा घरका झ्यालका सिसा फुटेको छ ।यसरी पटक-पटक तालाबन्दीको मार खेप्नु पर्दा विश्वविद्यालयको कामकाज रोकिदै आएको छ। यसको मारमा सधै विश्वविद्यालय परेको रजिष्टार माधव अधिकारीले बताए । आभास बुढाथोकी











