काठमाडौं, १९ मंसिर । सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । चुनावी नतिजा अन्तिम चरणमा पुगेसँगै चुनावी समीक्षा र नयाँ सरकार गठनको विषयमा छलफल गर्न बैठक बसेको हो ।
चुनावी नतिजा सन्तोषजनक नभएको सत्ता गठबन्धनका नेताहरूले बताउँदै आएका छन् । केही ठाउँमा अन्तर्घात भएको आरोप–प्रत्यारोप पनि भइरहेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेसले ५७, माओवादीले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक ठाउँमा जित हासिल गरेका छन् ।
नयाँ सरकार गठनको विषयमा पनि सत्ता गठबन्धभित्र एकमत छैन । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरूले यही गठबन्धनलाई निरन्तरता दिने बताए पनि पहिले कसको नेतृत्वमा सरकार गठन गर्ने र प्रधानमन्त्री को हुने भन्ने विवाद छ ।











