काठमाडौं । जब माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा प्रत्यक्ष चुनाव नलड्ने निर्णयमा पुगे, धेरैलाई लाग्यो नेकपा एमालेका महासचिव शंकर पोखरेललाई सहज हुनेभयो ।

महरा पछि हटेपछि दाङ क्षेत्र नं. २ बाट सत्ता गठबन्धनबाट रेखा शर्मा उम्मेदवार बनिन् । तथापि शंकरकै सम्भावना बलियो मानिएको थियो । तर तिनै रेखाले शंकरलाई टक्कर मात्र दिइनन्, हराएर संसदको यात्रा तय गरेकी छन् ।

उनी भन्छिन हाम्रो समाज पितृसत्तात्मक छ, सामान्यतया यहाँ महिलालाई पत्याइँदैन । त्यही कारण पनि कतिपयले पत्याएनन् होला ।दोस्रो, म पहिले प्रत्यक्ष निर्वाचन लडेको थिइनँ । पहिलोपटक प्रत्यक्ष चुनाव लडेकाले जित्दैन होला भन्ने पनि लाग्यो होला । कसैले नपत्याएको भएर पनि जितियो । म आफैंलाई चाहिँ निर्वाचित हुन्छु भन्ने नै थियो ।

को कस्तो ‘वेट’ को अथवा हैसियतको भनेर निर्वाचन लडिंदैन । त्यसको प्रभाव नै नहुने होइन, तर उसको भूमिका र योगदान मुख्य हुन्छ । भूमिका र योगदानका हिसाबले म पनि कमजोर थिइनँ । पदीय हैसियत र राजकीय लाभका हिसाबले स्वाभाविक ढंगले फरक अवस्था हो, तर परिणाममा असर पुग्ने गरी त्यो पक्ष हाबी नहुन सक्थ्यो ।

मूल कुरा हाम्रा एजेण्डा हुन् । हामीले गठबन्धन गर्नुको उद्देश्य संविधानको रक्षाका लागि थियो । त्यो हिसाबले गठबन्धन ठिक छ र हामी ठिक गर्दैछौं भन्ने विश्वास थियो । म त्यसैअनुुसार प्रस्तुत भएँ ।

सिंगो दाङको कुरा गर्दा हामी गठबन्धनका नौ जना उम्मेदवार नै विजय भएका छौं । हामीले प्रवेश परीक्षा पास गर्यौं, अब हाम्रो वास्तविक परीक्षा सुरु हुन्छ । यो परीक्षा सुरु हुने बेलामा जसरी निर्वाचनको बेलामा हामीलाई साथ सहयोग, माया ममता दिनुभयो, जसरी हामीलाई उत्तीर्ण गराइदिनुभयो, आगामी दिनमा

हामीले निर्वाह गर्ने भूमिकामा पनि गलत गर्न खोजेछौं भने खबरदारी गरेर र राम्रो गर्न खोजेछौं भने उत्साहित गरेर सहयोग गर्नुहोला । हामीलाई साँच्चिकै जनताको सेवक बनाइरहनको निम्ति यहाँहरुको पनि भूमिका हुन्छ । खासगरी दाङ २ का मतदातालाई म के भन्न चाहान्छु भने यो जित गठबन्धनको पनि हो, तपाईंहरु पनि सबैको हो । हिजो त हामी गठबन्धनबाट चुनाव लड्यौं, अब साझा भएर अगाडि बढ्नेछौं ।