KIRAN-AND-BADAL-FINAL

प्रचण्ड नेतृत्वको एमाओवादीसँग पार्टी एकतालाई लिएर मोहन बैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी विभाजनको संघारमा पुगेको छ । अब पार्टी अध्यक्ष मोहन बैद्य सामू बहुमतको निर्णय मार्ने वा पार्टी विभाजन स्वीकार गर्ने देखिएको छ ।

पार्टी एकताका पक्षधरले हस्ताक्षर संकलन थालेपछि वैद्यले केन्द्रीय समितिको बैठक नै स्थगित गरेका छन् । ‘गृहकार्य नपुगेकाले बैठक एक महिनालाई स्थगित गरिएको हो’ प्रवक्ता पम्फा भुसालले अनलाइनखबरसँग भनिन् ।

बैद्य माओवादीले पार्टी एकताबारे छलफल गर्न भन्दै चैत दोस्रो साता केन्द्रीय समितिको बैठक बोलाएको थियो । एकसातासम्म चलेको बैठकमा महासचिव बादलले पार्टी अध्यक्ष मोहन बैद्यको प्रतिवेदनमाथि फरक मत राखेका थिए ।

बैठकमा बहुमत केन्द्रीय सदस्यहरु पार्टी एकताको पक्षमा देखिएका थिए । तर, बैद्यसहितका नेताहरु एकताको पक्षमा देखिएनन् । परि थापा समूह पनि एकताको विपक्षमा उभिएको छ ।

एमाओवादीसँग पार्टी एकताका लागि नेतृत्वलाई दबाव दिन भन्दै एकता पक्षधरले हस्ताक्षर संकलन गरे, जसको नेतृत्व महासचिव रामबहादुर थापा बादल स्वयंमले गरेका छन् । एकता पक्षधर नेताहरुले आफूहरुको पक्षमा बहुमत रहेको दाबी गरेका छन् ।

तर, उनीहरुले केन्द्रीय समितिमा बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउन नपाउँदै बैठक स्थगित भएको छ । अर्को बैठक अहिले बस्ने भन्ने टुंगो छैन ।

अब पार्टी बैठक कुर्ने कि बहुमतले निर्णय गरेर अघि बढ्ने भन्ने एकता पक्षधरको हातमा छ । यसबारे उनीहरु आन्तरिक छलफल गरिरहेका छन् र, कुनै निर्णय भइनसकेको एक नेताले बताए ।

बैद्य माओवादी सिंगो रुपमा एकतामा नआउने भएपछि प्रचण्ड नेतृत्वको एमाओवादीले पनि बादलसँगको छलफललाई तीव्रता दिएको छ ।

‘अहिलेसम्मको तयारी हेर्दा बैद्य माओवादीमा बहुमतले निर्णय गरेर एकतामा आउने देखिन्छ’ स्रोतले भन्यो, ‘बैद्यले कि बमहुतको निर्णय मानेर एकतामा आउनुपर्‍यो, नभए अर्को पार्टी बनाउनुपर्‍यो ।’ तर, बैद्यले बहुमतको निर्णय मानेर एकतामा जाने भन्दा पनि अर्को पार्टी बनाएर बस्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

बादल समूहले चाँहि आगामी बैशाख १० गते लेनिन जयन्ती एवं नेकपा स्थापना दिवसको अवसर पारेर पार्टी एकता गर्ने मानसिकता बनाएको स्रोतले बतायो ।

यसअघि फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर वैद्य र प्रचण्डवीच पार्टी एकता हुन सक्ने बताइए पनि हुन सकेन । अब नेताहरुले बैशाख १० गतेलाई लक्षित गरेको बताइएको छ ।

एमाओवादीसँग एकता नगर्ने समूहमा बैद्यसँगै उपाध्यक्ष सीपी गजुरेलसहितका नेताहरु छन् । र, यो समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर प्राविधिक विषय मात्रै भएको टिप्पणी गरेको छ ।

यो समूहका नेता हरिभक्त कँडेलले आफूहरु एकता विरोधी नभएको तर, एकताका लागि अहिलेसम्म विचार नै नमिलेको अनलाइनखबरलाई बताए । तर, प्रचण्ड स्वयंम एकताका लागि गम्भीर नभएको भन्दै कँडेलले भने, विचार छाडेर एकता हुन सक्दैन ।’

अनलाइन खबरमा समाचार छ ।