काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँगको भेटबारे एमाले नेता भीम रावले गरेको प्रश्नको उत्तर दिएका छन् ।
रावललाई मेयर बालेनले पनि सामाजिक सञ्जालमार्फत उत्तर दिएका छन् ।
उनले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’
बालेनले उल्टै रावललाई प्रश्न गर्दै भनेका छन्, ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन ।’ उनले भेटबारे स्पष्ट पार्दै भनेका छन्, ‘उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ ।’
उनले लेखेका छन्,’एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’











