घोराही । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुबैमा २०७४ सालमा दाङमा पहिलो भएको नेपाली कांग्रेस २०७९ को निर्वाचनमा दोस्रो भएको छ ।

२०७४ को निर्वाचनमा दोस्रो भएको एमालेले यसपटक प्रत्यक्षतर्फ क्लिनस्वीप हुँदा पनि कांग्रेसलाई उछिन्दै जिल्लामा समानुपातिकमा धेरै मत पाउने दल भएको छ । भर्खरै भएको निर्वाचनमा दाङमा समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ६७ हजार छ सय ५४ मत

पाउँदा दोस्रो स्थानमा नेपाली कांग्रेसले ६१ हजार दुई सय ३३ मत पाएको छ । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले ७३ हजार नौ सय ९३ मत पाएर पहिलो हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ७३ हजार ११ मत पाएर दोस्रो भएको थियो । २०७४ को निर्वाचनमा ४३ हजार एक सय ९५ मत पाउँदै तेस्रो भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टीले जितेर चौथो बनाइदिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ३९ हजार आठ सय ५३ मत पाउँदा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र÷नेपाल समाजवादी पार्टी) ले ३३ हजार एक सय ९८ मत पाएको छ ।

यसपटक जिल्लामा नयाँ दलको रुपमा रहेको नागरिक उन्मुक्ति पार्टीले आठ हजार आठ सय ९२ मत पाएको छ । २०७४ को निर्वाचनमा चार हजार छ सय ८९ मत पाएको राष्ट्रिय जनमोर्चाले यसपटक दुई हजार तीन सय १४ मत मात्रै पाएको छ । २०७४ को निर्वाचनमा एक हजार छ सय ७७ मत मात्रै पाएको

राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक सात हजार छ सय एक मत पाएको छ । २०७४ सालको निर्वाचनमा चार हजार पाँच सय ९१ मत पाएको विवेकशील साझा पार्टीले यसपटक दाङमा २९ मत मात्रै पाएको छ । २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट फुटेर गएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले चार हजार छ सय ९१ मत पाएको छ ।

प्रदेशसभामा पनि एमाले अगाडि

प्रदेशसभा निर्वाचनमा पनि समानुपातिक मतमा यसपटक कांग्रेसलाई एमालेले उछिनेको छ । २०७४ सालमा ६९ हजार ६५ मत पाएर जिल्लामा पहिलो भएको कांग्रेसले यसपटक ६५ हजार सात सय ३७ मत पाएर दोस्रो भयो । ६५ हजार एक सय ६५ समानुपातिक मत पाएर २०७४ को निर्वाचनमा दोस्रो भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले २०७९ मा ७८ हजार चार सय ५३ मत पाएर पहिलो भयो । २०७४ को निर्वाचनमा ४४ हजार आठ सय १७ समानुपातिक मत पाएर जिल्लामा तेस्रो स्थान पाएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले यसपटक पनि तेस्रो स्थान बनाउँदै गर्दा अघिल्लो निर्वाचनको भन्दा कम ३६ हजार पाँच सय ९४ मत पायो । २०७४ मा प्रदेशसभामा चार हजार छ सय ३५ मत पाएको राष्ट्रिय जनमोर्चाले यसपटकको निर्वाचनमा तीन हजार आठ सय ८२ मत पायो ।

२०७४ मा एक हजार नौ सय ५१ मात्रै मत पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक १२ हजार चार सय ८७ मत पायो । २०७४ मा तीन हजार दुई सय ४३ मत पाएको विवेकशील साझा पार्टीले ८६ मत मात्रै पायो । यसपटक नयाँ दलका रुपमा आएका नागरिक उन्मुक्ति पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पनि जिल्लामा राम्रै मत पाएका छन् । दाङबाट नागरिक उन्मुक्ति पार्टी १० हजार सात सय ३६ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सात हजार तीन सय ९२ मत पाएका छन् ।