काठमाडौं, ६ साउन । व्यवस्थापिका–संसद, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विगतमा भएका निर्देशनको अवस्था र आगामी रणनीति तय गर्न ‘निर्देश्न कार्यान्वयन उपसमिति’ गठन गरेको छ । समितिको हिजोको बैठकले यसअघिका निर्णय कार्यान्वयनको वास्तविक स्थिति पत्ता लगाई एक महिनाभित्र राय सुझावसहितको प्रतिवेदन पेस गर्न नौ सदस्यीय उपसमिति गठन गरेको हो ।
सांसद भरतबहादुर खड्का संयोजक रहेको उपसमितिमा सांसद अञ्जली श्रेष्ठ, अमर शर्मा देवराज भार, अशोककुमार मण्डल, जितेन्द्रनारायण देव, दुर्गा पौडेल, प्रभादेवी बज्राचार्य, प्रेमकिशोर प्रसाद साह तेली र राज्यलक्ष्मी श्रेष्ठ सदस्य हुनुहुन्छ ।
समितिलाई श्रम समितिले विगतमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलगायत निकायलाई दिइएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
