राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधि सभा निर्वाचनमार्फत सात जना उम्मेदवारहरू विजयी भएका छन् ।

अघिल्लो निर्वाचनमा एक जना मात्र सांसद रहेको सो दलबाट यस पटक सात जना निर्वाचित भइसकेका छन् भने समानुपातिकमा पनि राम्रै मत ल्याएको कारण समानुपातिकबाट सासंदहरू थपिने प्रारम्भिक तथ्याङ्कले देखाएको छ । समानुपातिकको ७९ लाख मत गणना हुँदा राप्रपा चार लाख ६९ हजार ७५० मतसहित तालिकाको चौथो स्थानमा रहेको छ ।

राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि राजेन्द्र लिङ्देनले पार्टीको सङ्गठन बलियो बनाएको अहिलेको निर्वाचनले पुष्टि गर्छ ।यो समाचार तयार पार्दासम्म १६५ निर्वाचन क्षेत्रमध्ये १५३ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ र मतगणना जारी रहेका कुनै पनि निर्वाचन क्षेत्रमा राप्रपाले अग्रता नलिएकाले प्रत्यक्षमा थप सांसदहरू निर्वाचन हुने सम्भावना देखिएको छैन ।

अब लागौँ राप्रपाबाट निर्वाचित भएका सांसदहरूतर्फ ।

१) राजेन्द्र लिङ्देन

झापाको क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला पुनः दोस्रो पटक पराजित गरेका छन् । एमालेसँगको तालमेलमा चुनावमा सहभागी भएका लिङ्देनले तीन हजार दुई सय ७६ मतान्तरले सिटौलालाई पराजित गरेका हुन् ।

अध्यक्ष लिङ्देनले ४० हजार ६ ४८ मत पाएर निर्वाचित हुँदा पराजित उम्मेदवार सिटौलाले ३७ हजार ३७२ मत पाए।

२) दिपक बहादुर सिंह

मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दिपक बहादुर सिंह निर्वाचित भए । उनले सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसकी सह महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) र एमालेको चुनाव चिह्नबाट निर्वाचनमा सहभागी भएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै निर्वाचित हुन सफल भएका हुन् ।

सिंहले २७ हजार ८१६ मत ल्याएर निर्वाचित हुँदा डिनाले २५ हजार ४३४ मत पाइन् भने पूर्वउपप्रधानमन्त्री समेत रहेका थापा २५ हजार ४२० मतसहित तेस्रो स्थानमा रहन पुगे ।

३) धुब्र बहादुर प्रधान

नवलपरासी-२ मा राप्रपाका ध्रुवबहादुर प्रधानले पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेललाई पराजित गरेका छन् । प्रधानले कांग्रेसका उम्मेदवार कँडेललाई १९ हजार ५९५ मतान्तरले हराएका हुन् । प्रधान ३४ हजार ९५९ मतसहित निर्वाचित हुँदा कँडेलले १९ हजार ५९४ मत मात्र ल्याए ।

४) विक्रम पाण्डे

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपा उपाध्यक्ष समेत रहेका विक्रम पाण्डे नौ हजार २३३ मतान्तरका साथ विजयी भएका छन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का डा. भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरे ।

अघिल्लो निर्वाचनमा पाण्डे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” सँग नौ हजार ३४१ मतले यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए ।

५) दीपक बोहरा

रुपन्देही ३ मा बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै राप्रपाका दीपक बोहरा विजयी भएका छन् । बोहरा ३६ हजार ७१७ मतसहित निर्वाचित हुँदा पराजित भएका खाँणले ३४ हजार ३६ मत पाए ।

६) धवल शमशेर राणा

बाँके २ मा राप्रपाका महामन्त्री समेत रहेका धवल शमशेर राणा विजयी भए । उनले पूर्व मन्त्रीसमेत रहेका जसपाका मोहम्मद इश्तियाक राई पराजित गर्दै सांसद बनेका हुन् । राणाले २९ हजार ५७७ मत ल्याएर निर्वाचित हुँदा राईले २३ हजार ५२० मत पाए ।

७) ज्ञानबहादुर शाही

जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) फराकिलो मतले निर्वाचित हुन पुगे । शाही २२ हजार ८१९ मतका साथ निर्वाचित हुँदा सत्ता गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र) की गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाइन ।

हामी नेपाली अभियानमा भ्रष्टाचार विरुद्धको अभियान सुरु गरेका ज्ञानेन्द्र शाही पछिल्लो समय राप्रपामा प्रवेश गरेर प्रवक्ताको जिम्मेवारीमा थिए ।