इन्द्रेणी संवाददाता
दाङ, ७ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं. २ का उम्मेदवार नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मतान्तर घटाउदै लिएका छन् । मतगणनको सुरुवाती चरणमै पछाडि परेका पोख्रेलले पछिल्लो समयमा मतान्तर घटाउदै लिएका हुन् ।
कूल खसेकामध्ये करिब २३ हजार मत गणना हुँदा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएकी नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग झण्डै १ हजार ८ सय मतान्तरले पछाडि थिए । तर अहिले पछिल्लो चरणको मतपरिणाम अनुसार शर्मा र पोख्रेलको मतान्तर १ हजार ४ सय ८६ मात्रै छ ।
पछिल्लो चरणमा ४६ हजार २९३ मत गणना हुँदा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १६ हजार ५३३ मत प्राप्त गरकी छन् भने महासचिव पोख्रेलले १५ हजार ४६ मत प्राप्त गरेका छन् ।
महासचिव पोख्रेल हेविवेयट नेताका रुपमा चिनिन्छन् भने शर्मा पनि पूर्व सामान्य प्रशासन मन्त्री हुन् । शर्मा र पोख्रेलको प्रतिस्पर्धालाई निकै चासोका रुपमा हेरिएको छ । मतगणनाको सुरुवाती चरणमै अग्रता लिएकी शर्माले अहिलेसम्म पनि अग्रता कायमै राखेकी छन् । दाङ क्षेत्र नं. २ मा कूल १ लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार ४४६ मत खसेको थियो ।











