काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन् ।

आफू उम्मेदवार रहेको गोरखा क्षेत्र नम्बर-२ का विभिन्न मतदान केन्द्रको अवलोकन गर्न चितवनमा मतदान गरेर गोरखा पुगेका उनले अहिलेको गठबन्धन लामो समयसम्म जाने बताएका हुन् ।

“यो गठबन्धनलाई लामो समयसम्म अघि बढाउनुपर्छ भन्नेमा गठबन्धनमा आबद्ध सबै दल एकमत छन्,” उनले भने, “भोलि जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन कायम रहन्छ ।”

अध्यक्ष प्रचण्डले अबको सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा गठबन्धन दलहरूबिचमा अहिले कुनै छलफल नभएको समेत बताए ।

उनले योपटकको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अरू बेलाको जस्तो सामान्य निर्वाचन नभएको भन्दै यसलाई जनमतसंग्रहका रूपमा लिन सकिने बताए । अध्यक्ष प्रचण्डले यो निर्वाचन संविधानमा पटक-पटक आक्रमण गर्ने र संविधानको रक्षा गर्दै विकास र समृद्धिको यात्रा सुरु गर्न चाहनेबीचको प्रतिस्पर्धा रहेको उल्लेख गरे ।

गोरखा आएर अध्यक्ष प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पालुङटार नगरपालिका-२, बडडाँडा, गोरखा नगरपालिकाको छेवेटार, बिरिनचोक, तेह्रकिलो, कुन्दुरटारलगायत स्थानमा पुगेर मतदान केन्द्रको स्थलगत अवलोकन गरेका थिए ।