४ मंसिर, दाङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य (सांसद) चुन्नका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ । प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीबाट चुनिने जनप्रतिनिधिहरुले मुख्य रुपमा सरकार निर्माण गर्ने र कानून बनाउने काम गर्नेछन् ।

प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी भने समानूपातिक पद्धती अन्तर्गत दलले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुनेछन् । प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० सदस्य हुन्छन् ।

प्रतिनिधिससभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् ।

जसमा एक हजार ५४५ जना दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् । प्रदेशसभाको प्रत्यक्षतर्फ तीन हजार २२४ जना कुल उम्मेदवार छन् । जसमध्ये दुई हजार १३० जना दलका र एक हजार ९४ जना स्वतन्त्र उम्मेदवार छन् ।२०६१ साल मंसिर ३ गतेसम्म जन्मेका अर्थात आजको दिनसम्म १८ वर्ष पुरा भएका र नागरिकताको प्रमाणपत्र लिएर मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यो निर्वाचनमा भाग लिन पाउनेछन् । देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । कुल मतदाताको संख्या अघिल्लो निर्वाचनको तुलनामा करिव १४ प्रतिशत बढी हो ।

मतदानका लागि भाग लिन जाँदा मतदाता परिचयपत्र लैजानुपर्नेछ । परिचयपत्र नभए नागरिकताको प्रमाणपत्र, लालपूर्ण, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, पासपोर्ट(राहदानी)का आधारमा पनि मतदान गर्न पाइने आयोगले जनाएको छ ।‘निर्वाचन आयोगले शनिबार दिउसो विशेष पत्रकार सम्मेलन गरेर निर्वाचनको तयारी पुरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानमा सक्रियपूर्वक सहभागी हुन सबै मतदाताहरुलाई आग्रह गरे । निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन संचालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा निर्धक्क भएर मतदान गर्नु हुन हार्दिक अपिल गर्दछु’ उनले भनेका छन् ।