देउखुरी । लमही नगरपालिका वडा नं. ६ निवासी विशाल आचार्य आमनिर्वाचनलाई लिएर उत्साहित हुनुहुन्छ । आज हुँदै गरेको निर्वाचनमा मतदान गरेपछि उहाँको दोस्रो मतदान हुनेछ । यसअघि भएको स्थानीय तह निर्वाचनमा भाग लिनुभएका विशाल प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उत्साहित हुनुहुन्छ ।
‘हामीले दिएको मतको कदर होस् भन्ने चाहना छ’– उहाँले भन्नुभयो– ‘जनभावनाको कदर गर्दै जनप्रतिनिधिले काम गरेको हेर्ने मन छ ।’ विशाल जस्तै दाङ जिल्लामा चार लाख १४ हजार नौ सय ५६ मतदाता मतदानमा सहभागी हुँदैछन् । दुई लाख तीन हजार नौ सय आठ पुरुष र दुई लाख ११ हजार ४६ महिला, दुईजना अन्यगरी चार लाख १४ हजार नौ सय ५६ जना मतदाता निर्वाचनमा भाग लिदैछन् । दाङ निर्वाचन क्षेत्र नं. १ मा एक लाख ३४ हजार सात सय ३३ मतदाता छन् । १ (१) मा ७० हजार दुई सय ६७, १ (२) मा ६४ हजार चार सय ६६ मतदाता छन् ।
क्षेत्र नं. २ मा एक लाख ३३ हजार सात सय ४८ मतदाता छन् । निर्वाचन क्षेत्र नं. २ (१) मा ६३ हजार तीन सय २२ र २ (२) मा ७० हजार चार सय २६ मतदाता छन् । क्षेत्र नं. ३ मा एक लाख ४६ हजार चार सय ७५ मतदाता छन् । ३ (१) मा ६६ हजार चार सय ८६ र ३ (२) मा ७९ हजार नौ सय ८९ मतदाता रहेका छन् । दाङमा ९० जना उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को मतदान बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म चल्ने छ । जिल्लाका एक सय ५३ मतदान स्थलभित्र चार सय ६५ मतदान केन्द्र निर्माण गरिएको छ । मतदान केन्द्रले मतदाता पर्खिरहेका छन् । ‘मतदानलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न हाम्रो तर्फबाट हुनुपर्ने सबै तयारी पूरा गरेका छौं । मतदानमा सहभागी हुन सबै सँग अपिल गर्दछु’– मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले भन्नुभयो– ‘हरेक पाँच–पाँच वर्षमा हुने आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यो राष्ट्रिय पर्वमा हामी सबै सहभागी हुनुपर्छ र सफल पार्नुपर्ने सबैको साझा दायित्व रहन्छ ।’
क्षेत्र नं. १ मा एक सय ५२ मतदान केन्द्र छन् । जहाँ एक हजार दुई सय १६ कर्मचारी खटिएका छन् । क्षेत्र नं. २ मा एक सय ४५ मतदान केन्द्र छन् । जहाँ एक हजार ७४ कर्मचारी खटिएका छन् । क्षेत्र नं. ३ मा एक सय ६८ मतदान केन्द्र छन् । जहाँ करिब एक हजार तीन सय ३६ कर्मचारी खटिएका छन् ।
६ हजार सुरक्षाकर्मी परिचालन
निर्वाचनलाई लक्षित गरेर सुरक्षा अवस्था मजबुत पारिएको छ । जिल्लामा निर्वाचनलाई लक्षित गरेर छ हजार सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर वलीले जानकारी दिनुभयो । सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य अवस्थाका मतदानस्थलको पहिचान गरिएको भए पनि सार्वजनिक गरिएको छैन । ‘हामीले निर्वाचन सुरक्षालाई मजबुत बनाएका छौं । आन्तरिक तयारी सबै पूरा भएको छ’– उहाँले भन्नुभयो– ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना निर्वाचन लक्षित सुरक्षामा खटिएका छन् ।’ कतै शंकास्पद वस्तु भेटिएमा चाँडै डिस्पोजल गर्नेगरी सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ । सुरक्षा थ्रेटको समेत आन्तरिकरुपमा विश्लेषण गरेर सुरक्षा अवस्थालाई चुस्त बनाउने काम भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । तीन तहको घेरामा निर्वाचन सुरक्षा हुनेछ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने व्यवस्था गरिएको छ ।
घट्ला त बदर मत
२०७४ सालको निर्वाचनमा बदर मतको संख्या धेरै देखिन्छ । मतदाता शिक्षा नपुग्दा बदर मतको संख्या बढेको देखिएको हो । त्यही भएर बदर मत घटाउन मतदाता शिक्षामा जोड दिइएको थियो । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा कुल ९.५९ प्रतिशत मत बदर भएको थियो । यस्तै छवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा १४.८५ प्रतिशत मत बदर भएको तथ्यांक प्रदेश निर्वाचन कार्यालय दाङले उपलब्ध गराएको छ ।
यसपालि चार लाख १४ हजार नौ सय ५६ मतदाताले निर्वाचनमा भाग लिदैछन् । ‘बदर मतको प्रतिशत अध्ययन गर्दा धेरै देखिन्छ । यसपालि हुने निर्वाचनमा बदर मत घटाउने उद्देश्य छ’– प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले भन्नुभयो– ‘त्यही भएर मतदाता शिक्षालाई प्रभावकारी बनाउन खोजिएको हो ।’ जिल्लाका तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्रमा मतदाता शिक्षा अभियानको रुपमा चलाइएको थियो । यसपालिको निर्वाचनमा एक जना मतदाताले चार पटक मत संकेत गर्नुपर्नेछ । शुरुमा प्रतिनिधिसभा प्रत्यक्ष र त्यसपछि समानुपातिक गरी फरक फरक मतपत्रमा मत संकेत गर्नुपर्ने छ । त्यसपछि प्रदेशसभा सदस्यको प्रत्यक्ष र त्यसपछि समानुपातिकको लागि मत संकेत गर्नुपर्नेछ ।
प्रमुख जिल्ला अधिकारी, दाङ
निर्वाचन सुरक्षा चुस्त पारेका छौं । भौगोलिक विकटता, निर्वाचन विरोधी गतिविधि हुन सक्ने स्थानको पहिचान गरेर सुरक्षा रणनीति अनुसार जिम्मेवारी बाँडफाँड गरेका छौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरीको टोली निर्वाचन सुरक्षामा तैनाथ छ । कुनै भयको अवस्था छैन । निर्धक्क ढुक्क भएर मतदानमा सहभागी हुने वातावरण छ । कहीं कतै शंकास्पद गतिविधि भएको सूचना पाएको पाँच मिनेटदेखि ढिलोमा आधा घण्टासम्म सुरक्षा निकायको उपस्थिति हुने प्रबन्ध मिलाएका छौं । मतदान केन्द्रको सुरक्षा, मतदाताको सुरक्षा, मत पेटिकाको सुरक्षाको लागि मतदान स्थलमा मतदाताको संख्याको आधारमा १८ देखि २५ जनासम्म सुरक्षाकर्मीहरु खटाइएको छ । त्यसमा पनि गस्ती टोली अलग्गै खटिएको छ । त्यसैले मतदानमा ढुक्क भएर सहभागी हुन हार्दिक अनुरोध गर्दछु । सुरक्षा निकाय संवेदनशील भएर लागेको छ । कडा र सूक्ष्म निगरानी गरेका छौं । मतदातालाई कुनै भयको अवस्था छैन । निर्वाचन बिथोल्ने प्रयास कहीं कतैबाट भएको खण्डमा प्रहरीलाई घुँडामुनि गोली चलाउन सक्नेसम्मको अधिकार प्रत्यायोजन गरिएको छ । यसका अतिरिक्त जिल्लामा २० जना उपसचिव तहका कर्मचारीलाई प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्ने स्थानीय प्रशासन ऐनको अधिकार प्रत्यायोजन गरिएको छ । द्वन्द्व हुन सक्ने अवस्थामा शान्ति स्थापना गर्न उपसचिवले भूमिका निर्वाह गर्नेगरी काम गरेका छौं । अर्काे कुरा निर्वाचन सुरक्षामा ठूलो चुनौती देखिएको खण्डमा हवाई गस्तीको समेत व्यवस्था गरिएको छ । शंकास्पद विस्फोटक पदार्थ भेटिएको खण्डमा तीनवटै निर्वाचन क्षेत्रलाई लक्षित गरेर डिस्पोजल टोली तैनाथी अवस्थामा छ । सूचना पाएको समयले १५ देखि २० मिनेटभित्र सम्बन्धित स्थानमा पुग्नेगरी व्यवस्थापन गरिएको छ । मतपेटिका सुरक्षाको निमित्त प्रहरीको तैनाथी छ । मतदान शुरु भएदेखि मतदान सकिदासम्म, मतदान सकिएपछि मतगणना स्थलसम्म पु¥याउन सुरक्षा व्यवस्था गरेका छौं ।











