मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणनास्थलमा सीसी क्यामेराको व्यवस्था हुने भएको छ। निर्वाचन आयोगले सबै गणनास्थलमा सीसी क्यामेरा जडान गर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको हो। मतगणनाका क्रममा हुन सक्ने सम्भावित दुर्घटना रोक्न गणनास्थलको सुरक्षाका लागि यस्तो निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदानस्थलमा सीसी क्यामेरा अनिवार्य रूपमा जडान गर्न मतदान अधिकृतलाई निर्देशन दिइएको हो। साथै केही मतदान स्थलमा तारजालीको समेत व्यवस्था गरिएको छ। आयोगले तारजालीका विषयमा केही नभने पनि स्थानीय स्तरमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै तारजाली लगाएका हुन्।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनालाई सुरक्षित बनाउन पनि सरकारले मतगणना स्थलमा कतै तारजाली र कतै सीसी क्यामेराको व्यवस्था गरेको थियो। यसअघि मतपत्र च्यात्ने र गणनाका क्रममा धाँधली हुने भएकाले तारजाली लगाएमा सुरक्षित हुने भन्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना स्थलमा पनि तार जालीको व्यवस्था गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ।











