काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् ।बिहीबार झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमको प्रशंसा गरेका हुन् ।

संसदमा विचाराधीन नागरिकता विधेयक रोकेको आरोप लगाउँदै उनले आफू प्रधानमन्त्री हुँदा अध्यादेशबाट कानुन ल्याएर नागरिकता दिन लाग्दा अदालत गएर प्रचण्ड, देउवा र माधव नेपालले नै रोकाएको आरोप लगाए ।अध्यक्ष ओलीले भने, ‘‘विदेशीलाई तुरुन्ता-तुरुन्तै दिनको लागि हतारमा पेलपाल गर्न खोजे । धन्यवाद राष्ट्रपति ज्यु, उहाँले रोक्नुभयो । राष्ट्रपतिको काम यस्तै बेलामा आउँछ ।’
नागरिकता विधेयक रोक्ने कदमको प्रशंसा गर्दै उनले थपे, ‘जब राष्ट्रियतालाई खतरामा पार्न खोजिन्छ, जब जनसांखिक हिसाबले देशलाई धरापमा पार्ने षडयन्त्र हुन्छ । यस्तो बेलामा राष्ट्रपतिले दह्रो पाइला टेक्नैपर्छ । राष्ट्रिय अडान लिनैपर्छ । उहाँलाई म धन्यवाद भन्न चाहन्छु ।’

संघीय संसदले पारित गरी पहिलो पटक पेस गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयले १५ बुँदे सन्देशसहित फिर्ता पठाएको थियो ।
संसद्को दुवै सदनमा राष्ट्रपतिले १५ बुँदे सन्देशमा उठाएका विषयमाथि गम्भीर छलफल नगरी पुनः पारित गरेर पठाएको भन्दै राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिनन् । यस विषयमा सर्वोच्च अदालतमा पनि रिट परेको छ ।

बुधबार मात्रै राष्ट्रपतिले सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै आफूले १५ बुँदे सन्देशमा उठाएका विषयहरूमा गम्भीर छलफल नभएकोले नागरिकता विधेयक उनकै शब्दमा ‘यथास्थितिमा राखिएको’ छ ।बिहीबार एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको नागरिकता विधेयक रोक्ने कदमको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीलाई धन्यवाद दिएका हुन् ।
एमालेले चुनावमा बहुमत पाए एक महिनाभित्र जन्मसिद्धका आधारका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने अध्यक्ष ओलीको आश्वासन छ ।












