काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीमै फिर्ता ल्याइने बताएका छन् ।

Open photo

बुधबार सत्तारुढ गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उनले कुनै पूर्वाधार नै नभएको ठाउँ दाङको भालुवाङमा प्रदेश राजधानी रहन नसक्ने जिकिर गरे ।रुपन्देहीका जनतालाई थाहा नदिई कसैले राजधानी सार्छ भने बाटैबाट त्यो राजधानी सारेर फिर्ता ल्याइने छ’ खाँणले भने ।

Open photo

दाङको भालुबाङमा राजधानी लैजाँदा सरकारको खर्बौँ रकम खर्च हुने भएकाले उक्त निर्णय सच्याउनुपर्ने मन्त्री खाँणले बताए । ‘राजधानी तोक्ने अधिकार प्रदेश सभाको हो, त्यसलाई परीक्षण गर्ने र सच्याउने काम पनि प्रदेशसभाकै हो’, उनले भने, ‘कुनै पूर्वाधार नभएको स्थानमा राजधानी लैजाँदा पूर्वाधार निर्माण, पानी, सिँचाइ, सडक, भवन बनाउँदा सरकारको खर्बौँ रकम खर्च हुन्छ, यतिधेरै रकम खर्च गर्न सकिँदैन ।’

गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बुटवलमा अस्थायी राजधानी स्थापना गरेको स्मरण गरे । राजधानी बुटवलमा राख्न सेनाको प्रदेश मुख्यालय पनि स्थापना गरेको बताउँदै उनले पूर्वाधार नै नभएको स्थानमा लगिएको राजधानीबारे पुनर्विचार हुने दाबी गरे ।

यसअघि रुपन्देहीकै नेता एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि लुम्बिनीको राजधानी रुपन्देहीमै ल्याउन सकिने बताएका थिए ।पौडेलले राजधानी रुपन्देहीबाट दाङ सार्ने निर्णय कुनै ढुङ्गाको अक्षर नभएको भन्दै प्रदेशसभाको बहुमतले फिर्ता ल्याउन सकिने बताएका थिए ।अघिल्लो प्रदेशसभाले लुम्बिनीको स्थायी राजधानी दाङको भालुवाङमा राख्ने निर्णय गरेको थियो ।

No description available.