काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई हराएको छ । आज बुधवार भएको खेलमा नेपालले यूएईलाई तीन विकेटले हरायो ।

यूएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा सात विकेट गुमाएर भेटायो । नेपालका लागि गुलशन झा र आरिफ शेखले सातौँ विकेटका लागि ६२ रनको साझेदारी गरे ।
यसअघि त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा एक सय ९१ रन बनाउँदा अलआउट भयो ।
यूएईका मुहम्मद वासिमले ५० र अलिशन शरफुले ३५ रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन विकेट लिए । त्यस्तै करन केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक-एक विकेट लिए ।

यो जितसँगै नेपालले तीन खेलको शृङ्खलामा एक–एकको बराबरी गरेको छ । यसअघि भएको पहिलो खेलमा यूएई ८४ रनले विजयी भएको थियो ।
तेस्रो तथा निर्णायक खेल आउँदो शुक्रवार हुनेछ ।












