नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिले पार्टीभित्रका कुनै नेताले पनि प्रधानमन्त्रीको बाजा बजाउँदै हिँड्न आवश्यक नरहेको बताएका छन्।

Open photo

मंगलबार न्यूज एजेन्सी नेपालसँगको संवादका क्रममा प्रवक्ता महतले अहिले कांग्रेसबाट प्रधानमन्त्रीका रुपमा सभापति शेरबहादुर देउवाले नै निरन्तरता पाउने पनि बताएका छन्।

मलाई लाग्दछ, अहिले हामी सबैले केन्द्रित हुनुपर्ने निर्वाचनमा हो। आफू पनि निर्वाचित भएर आउने र ज्यादाभन्दा ज्यादा पार्टीका साथीहरुलाई निर्वाचित गराउने काम हो’, उनले भने, ‘हाम्रो पार्टीको नेतृत्व र पदाधिकारी सबैको त्यही कर्तव्य र जिम्मेवारी पनि हो। पार्टी पहिला जित्नुपर्‍यो। गठबन्धनले जित्नुपर्‍यो। पार्टीले जितेपछि पनि संसदीय दलबाट नेतृत्व चुनिन्छ।’

Open photo

उनले निर्वाचन जितिसकेपछि संसदीय दलको नेता पनि निर्वाचनबाटै चुनिने उनले बताए। ‘त्यहाँ हाम्रो कुनै एकाधिकारवादी, अधिनायकवादी प्रवृत्ति हुँदैन। एउटा नेताले जे भन्छ त्यो हुने पार्टी त होइन। हामीसँग विधान छ। व्यवस्था छ। संसदीय प्रक्रिया छ’, उनले भने, ‘त्यहाँ जो कोही योग्य ठान्नेलाई नेतृत्वमा जान चाहन्छु भन्ने लाग्छ भने उम्मेदवारी दिन पाइहाल्नु हुन्छ।’

उनले सबैलाई पार्टी जिताउने अभियानमा लाग्न आग्रह गर्दे प्रधानमन्त्रीको बाजा बजाउनु उचित नहुने तर्क गरे।

‘त्यसकारण अहिले प्रधानमन्त्रीबारेमा बाजा बजाएर हिँड्नुपर्ने कुनै आवश्यकता ठान्दिनँ। त्यसले पार्टीको पक्षमा माहोल बन्ने र हित हुने मैले देख्दिनँ’, उनले भने, ‘मैले के बुझ्न सकेको छैन भने यो कुरो भनिरहनुपर्ने आवश्यकता के कारणले परेको छ? स्वयम् पार्टीको नेतृत्व गरिरहनुभएको सभापति अहिले प्रधानमन्त्री पनि हुनुहुन्छ। उहाँले पनि भन्नु भएको छैन। अरुले म हुन्छु, म हुन्छु भनिरहनुपर्ने आवश्यकता किन पर्‍यो त्यो मलाई थाहा छैन।’

उनले अहिले गठबन्धनले स्पष्ट बहुमत ल्याउने पहिलो प्राथमिकता रहेको बताए। ‘देशलाई उल्टो गतिमा लाने, अहिलेसम्मको उपलब्धी कमजोर गर्ने प्रवृत्ति विभिन्न रुप, रंगमा प्रकट भएको छ’, उनले भने, ‘त्यो प्रवृत्तिलाई परास्त गर्नुपर्छ। हाम्रो सम्पूर्ण ध्यान त त्यतातिर पो जाने हो। अहिले हाम्रो ध्यानलाई विकेन्द्रित गर्नुपर्ने र व्यक्तिगत रुपमा म यसको लायक हुँ, उसको लायक हुँ भन्नुपर्ने म देख्दिनँ।’

No description available.