काठमाडौँ- नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले गठबन्धनले जनतालाई समृद्ध बनाउने बताएकी छन् ।

शुक्रबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा बोल्दै नेतृ घर्तीले गठबन्धनले जनताका आधारभूत विषयलाई सहज बनाउने, देश परिवर्तन र जनतालाई समृद्धि बनाउने एजेण्डा लिएर आएकाले गठबन्धनको जित सुनिश्चित रहेको बताएकी हुन् । उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै मंसिर ४ गतेको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाबी गरिन् ।

उनले अहिले देशले समृद्धि, शान्ति, स्थिर सरकार, संविधान र अहिलेको व्यवस्थाको रक्षा खोजेको भन्दै त्यो गठबन्धनले मात्रै पूरा गर्नसक्ने दाबी गरिन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहुमतको सरकार फुटाएर तथा दुईपटक संसद् विघटन गरेकाले गठबन्धन गर्ने बाध्यता भएको पनि बताइन् ।

घर्तीले अहिलेको गठबन्धन प्रतिगमनको विरुद्धमा लागेकाले अहिलको व्यवस्था जोगाउन जनताले गठबन्धनलाई जिताउनुपर्ने आवश्यकता रहेको उल्लेख गरिन् ।
काठमाडौँ क्षेत्र नम्बर २ का मतदाताहरू भने राजनीतिक दलहरूले गत ५ वर्षमा गरेको कामबाट सन्तुष्ट छैनन् । काठमाडौँ क्षेत्र नम्बर २ का जनताले स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार गर्न आग्रह गरेका छन् । उनीहरूले खानेपानीको समस्या बढिरहेको भन्दै खानेपानी समस्या समाधान गर्नेलाई भोट दिने बताए ।











