काठमाडौं, २४ कार्तिक । मंसिर ४ गते हुन लागेको संघीय र प्रदेश सभाको निर्वाचनका लागि छापिएका मतपत्र ७७ वटै जिल्लामा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
आयोले प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुई–दुईवटा मतपत्र छापेको छ । प्रत्यक्षका लागि तीन करोड ९७ लाख ८९ हजार पाँच सय र समानुपातिकका लागि चार करोड ६ लाख पाँच हजार मतपत्र छापेको छ । जिल्ला पुगेका मतपत्र अब मतदान केन्द्रमा पुर्याइनेछन् । देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र १८५ अन्य गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।
आयोगले सबै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा मतपत्रसहितका सामग्री पुर्याइसकेको छ । तर, त्यहाँबाट मतदान केन्द्रसम्म पुर्याउन दार्चुला, हुम्ला र डोल्पाबाट हेलिकोप्टर माग भएको छ । दार्चुलाको व्याँस गाउँपालिका पुग्न भारतीय बाटो भएर जानुपर्ने बाध्यता भएकाले निर्वाचन सामग्रीको सुरक्षालाई ध्यान दिएर हेलिकोप्टर पठाउने तयारी गरेको हो ।











