प्रदेश १ का वन तथा भूसंरक्षणमन्त्री एवं मोरङ ३ (क)का कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । ५८ वर्षीय थापाको बुधबार उपचारका क्रममा नोबेल अस्पतालमा निधन भएको हो । डेंगु संक्रमणका कारण निधन भएका थापाको प्रत्यक्षतर्फको चुनावी प्रतिस्पर्धामा विजयी भएर प्रदेश सांसद बन्ने सपना अधुरै रहन पुगेको छ ।

थापाका निजी सहयोगी ज्ञानु कटुवालका अनुसार उम्मेदवारी दर्ता गराउनुअघिदेखि नै डेंगु संक्रमण भएपछि ज्वरोले थलिएका उनी २४ असोजमा उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना भएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई २७ असोजमा

थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो । ह्याम्समा उनलाई १७ दिन आइसियू र आठ दिन वार्डमा राखेर उपचार गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार आएपछि उम्मेदवार थापाको इच्छाअनुसार २१ कात्तिकमा पुनः विराटनगरस्थित नोबेल अस्पताल ल्याएर उपचार थालिएको थियो ।

तर, उनको उपचारकै क्रममा बुधबार बिहान साढे १० बजे निधन भएको नोबेल अस्पतालका प्रवक्ता नारायण दाहालले जानकारी दिए । चिकित्सकहरूका अनुसार डेंगु संक्रमण भएर सिकिस्त थापालाई समयमै उपचार नहुँदा निमोनिया पनि भएको थियो । थापा एक वर्षदेखि प्रदेश १ मा वन, वातावरण तथा भूसंरक्षणमन्त्रीको जिम्मेवारीमा थिए । उनलाई ०७४ को निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फबाट प्रदेश सांसद बनाएको थियो ।

थापा ०५७ देखि आठ वर्षसम्म तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाका निजी सहयोगी थिए । उनले ०७० मा मोरङ २ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए । उनी एमालेका चण्डी राईसँग पराजित भए । ०७४ मा समानुपातिक सांसद बनेर मन्त्री भएका थापाको यसपटक प्रत्यक्ष निर्वाचनबाट विजयी बनेर प्रदेश सांसद बन्ने धोको थियो । मोरङ ३ (क)मा एमालेका दिलीप राई मुख्य प्रतिस्पर्धी थिए ।