दाङको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी नेतृ रेखा शर्मा व्यवस्था अनुरूप नागरिकको जीवनस्तर नफेरिएको तर्क गर्दछिन् । आफू व्यवस्था अनुरूप नागरिकको अवस्था बनाउन क्रियाशील रहने उनको भनाइ छ ।

नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसँग चुनावी प्रतिस्पर्धामा उत्रिएकी शर्मा उम्मेदवारको घरघर पुगेर मत मागिरहेकी छन् ।रेखा शर्मा भन्छिन म आगामी मंंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नं. २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बनेको छु । अहिले हामी गठबन्धनको साझा चुनावी एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहेका छौँ । घरदैलो अभियान अन्तर्गत मतदाताका कुरा सुन्ने, हाम्रा एजेण्डा मतदातालाई सुनाउने क्रम चलिरहेको छ ।

चुनावी अभियानका साथ मतदाताका घरदैलोमा उम्मेदवार पुग्दा मतदाताले पोख्ने भनेकै आफ्ना समस्या र विकास अभावका कुरा र दुखेसो हो । गाउँको दुुःखसुखका कुरा हुन् । मतदाताले आफ्नो गाउँ ठाउँको विकास खोज्छन् । हामीले जति गर्न सकेका छौँ, त्यसमा अझ राम्रो काम हुनुपर्‍यो भन्छन् । ठ्याक्कै भन्नुपर्दा मतदातालाई विकास चाहिएको छ ।

निर्वाचनको सरगर्मी बढेसँगै मतदाताहरू उत्साहित देखिनु भएको छ । दाङ निर्वाचन क्षेत्र नं. २ मा ३ स्थानीय तहको २७ वटा वडा छन् । म अहिले २७ वटै वडामा पुगिसकेको छु । एक चरणको भेटघाट सकिएको छ । भेटघाटका क्रममा मैले सोचे अनुरुपकै प्रतिक्रिया मतदाताबाट पाएको छु । मतदाताहरूमा वैचारिक आस्था, विचार रहन्छ नै तर प्रतिपक्ष दलप्रति आस्था, विचार राख्नेहरूले भेटघाटका क्रममा संविधानको रक्षा हुनुपर्छ, प्रतिगमन पक्षमा होइन, अग्रगमनको पक्षमा मतदान गर्छौँ भन्ने कुरासमेत राख्नु भएको छ ।निर्वाचनको मत परिणाम कहाँ पर्छ भन्ने गणितीय हिसाब किताब गरेर अहिले ठ्याक्कै भन्न सकिँदैन । मतभारका हिसाबले सत्ता गठबन्धन नै प्रतिस्पर्धीभन्दा अघि देखिन्छ । मतदाताहरूको लहरका हिसाबले हेर्दा हामीले जित्छौँ, यसमा कुनै शङ्का छैन । एजेण्डाका हिसाबले पनि हामीले जितेका छौँ । मतदाताहरूले बुझेको कुरा के छ भने संविधान रक्षाका लागि गठबन्धन जन्म भएको हो । अधिकार नै गुम्ने खतरामा परेपछि जनता सजग भएको देखिन्छ । अब रह्यो कुरा जित र हारको, त्यसका लागि मङ्सिर ४ कुर्नुपर्ने हुन्छ ।

हाम्रो पहिलो एजेण्डा नै संविधानको रक्षा हो । हामीले लामो राजनीतिक सङ्घर्षपछि प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र प्रतिगमनकारीका कारण  खतरामा परेको थियो ।

मैले चाहेको कुरा अब मुलुकको राजनीतिक आन्दोलनको अन्त्य गर्ने र समृद्धिको नयाँ यात्रा तय गर्ने हो । यो राजनीतिक एजेण्डाको विषय हो । यो कुरा सामान्य रूपमा सबै जनताले बुझिसकेका छन् । हाम्रा जनताको जीवनस्तरसँग जोडिएका देख्दा सामान्य तर त्यसको भोगाई र पीडा धेरै रहेका कतिपय विषय पनि एजेण्डा छन् ।

व्यवस्था अनुरुप नागरिकको जीवनस्तर अझै फेरिन सकेको छैन । अझै बस्ती बस्तीमा खानेपानी, सिँचाइ, बाटो, नाला, विद्युत्, पोल लगायत विकास निर्माणका अभावको समस्या छन् । ती कुरा देख्दा सामान्य देखिन्छ तर त्यसको प्रभाव निकै गहिरो र गम्भीर बनिरहेको छ । हामीले गर्न सक्ने काम जो जनताको दैनिकीसँग जोडिएको हुन्छ, त्यो कामलाई एजेण्डा बनाएका छौँ ।

‘हेभीवेट’ कसलाई भन्ने ? पद वा प्रतिष्ठालाई ? चुनाव लड्ने एजेण्डाले हो, पदले होइन । यो कुरा आम मतदाताहरूले बुझ्नुभएको छ । हामीले लिएका एजेण्डा जनताको पक्षमा छन् । राष्ट्रियताको पक्षमा छ । समृद्धि र विकासका पक्षमा छन् । पदले निर्वाचन जित्ने भए कयौं पटक मन्त्री भएका व्यक्तिले पनि निर्वाचनमा पराजय हुनुपरेको छ । स्वयं मेरो प्रतिस्पर्धीले तत्कालीन समयमा दाङ क्षेत्र नं. ३ बाट निर्वाचनमा पराजय व्यहोर्नु भएको हो । त्यतिबेला पनि पदका हिसाबले उहाँ उच्च स्थानमा हुनुहुन्थ्यो । एजेण्डाका हिसाबले हामी नै अग्रस्थानमा छौँ । पदका हिसाबले निर्वाचन जित्न सकिन्छ भन्ने भ्रममा मात्रै हो ।

अब कुरा रह्यो महिलाको, आज म जहाँ छु, त्यो हामीले प्राप्त गरेको अधिकारले दिएको हो । म उम्मेदवारका रूपमा रहँदै गर्दा दाङवासी महिला दिदीबहिनीहरु निकै उत्साहित बन्नुभएको छ । एउटा उदाहरण नै भनौँ, जनयुद्ध, जनआन्दोलनमा महिलाहरूले बन्दुक र झोला मात्रै बोकेनन्, बन्दुक र झोलासँगै आफ्ना बच्चा पनि बोकेर हिँडेका हौँ । कुनै काममा पुरुष असफल भए त्यो व्यक्ति मात्रै असफल हुन्छ । तर महिला असफल भए व्यक्ति हुँदैन, सिङ्गै महिला नै असफल भएको आरोप लगाइन्छ ।

म महिला हुँ, महिलाको पक्षमा निरन्तर सङ्घर्ष गर्दै आएँ । त्यो कुरा आम मतदाताहरू जानकार हुनुहुन्छ । म महिला भएकै कारण मैले महिला दिदी बहिनीहरूलाई के अनुरोध गर्छु भने महिलाको समस्या महिलाले बुझेका हुन्छन् । मैले दिदीबहिनीहरूको हरेक समस्या बुझेको छु । जसका कारण अहिले उम्मेदवार म भए पनि हरेक दिदीबहिनी आफू उम्मेदवार बनेझैँ महसुस गरिरहनुभएको छ ।

हामी २००७ सालदेखि राजनीतिक आन्दोलन गर्दै आइरहेका छौँ । जब मुलुकले राजनीतिक स्थायित्व पाउँछ तब मात्रै समृद्धिको यात्रा प्राप्त गर्न सकिन्छ । हामीले मुलुकलाई समृद्धितर्फ लैजानु पर्नेछ ।

जनतादेखि गाउँ, बस्ती सबैका मुहार फेर्नु छ । यो निर्वाचन व्यक्ति चुनिने निर्वाचन होइन, प्राप्त अधिकारको रक्षा गर्ने र नगर्ने बीचको युद्ध हो । आम मतदाताहरूले मङ्सिर ४ मा अग्रगमनको पक्षमा मत हालेर प्रतिगमनलाई पाखा लगाउने हुनेछ भन्ने विश्वास लिएको छु ।

#rekhasharma #rekha