घोराही । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले मंसिर ४ को निर्वाचनमा अग्रगमनको जीत हुने निश्चित भएको दाबी गर्नुभएको छ । संयुक्त बाम लोकतान्त्रिक गठबन्धन दाङ क्षेत्र नं. २ (२) ले नारायणपुरमा आयोजना गरेको पार्टी कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता महराले यस्तो बताउनुभएको हो ।

संवैधानिक व्यवस्था विपरीत पटक–पटक संसद भंग गरी मुलुकलाई अस्थिरतातर्फ लैजान खोज्दा नै बाम लोकतान्त्रिक गठबन्धन बनेको भन्दै राजनीतिक उपलब्धि जोगाउन पनि गठबन्धनले जित्नुपर्ने नेता महराको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार दीपक गिरीले नेकपा एमालेले झुठको खेती गर्दै जनतामा भ्रम छर्ने काम गरिरहेको भन्दै दङाली जनता भ्रममा नपरी संयुक्त बाम लोकतान्त्रिक गठबन्धनलाई बिजयी गराउन अनुुरोध गर्नुभएको थियो ।

कार्यक्रममा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार रेखा शर्माले नेकपा एमालेका नेताहरुले दाङको लमही–तुुलसीपुर फोरलेन सडकदेखि कैयांै पुलपुलेसासमेत अलपत्र पारेको आरोप लगाउनुभयो । कार्यक्रममा दाङ क्षेत्र नं. २ (१) प्रदेशसभा सदस्य उम्मेदवार राजु खनाल, २ (२) साझा उम्मेदवार प्रचण्डविक्रम न्यौपाने, एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, राष्ट्रियसभाका मुख्य सचेतक अनिता देवकोटा, लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डे, नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज निर्मल आचार्य, सहइञ्चार्ज हेमराज शर्मालगायतले भनाइ राख्नुभएको थियो ।