प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र रक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको बताएका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गृहजिल्ला डडेल्धुराको आलीतालमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धन विजयी भए मात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिने दाबी गरे ।
संविधान रक्षाका लागि वर्तमान सत्तागठबन्धन बनेको उल्लेख गर्दै उनले गठबन्धन अहिले सफलतापूर्वक अघि बढिरहेको बताए । प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा
ओलीले दुई–दुईपटक संसद् विघटन गरेर देशलाई अधिनायकवादतिर लैजान खोजेपछि संविधानको रक्षाका लागि गठबन्धन बनेको स्पष्ट पारे । प्रधानमन्त्रीको लहडमा संसद् विघटन गर्ने व्यवस्था संविधानमा नरहेको, तर ओलीले संविधानविपरीत संसद् विघटन गरेपछि सबै पार्टी एक भएर त्यसको विरोधमा गरेको उनले स्मरण गरे । उनले डडेल्धुराको विकासका लागि धेरै काम गरेको र थप काम गर्ने बताए ।
सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणका लागि सरकारले काम गर्ने उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले सभामा सुदूरपश्चिमको भावी मुख्यमन्त्रीका रूपमा खगराज भट्टलाई अघि सारे । ‘अबको सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्ट नै हो । मेरो पार्टीले भनिहाल्यो अबको मुख्यमन्त्री भट्ट नै हुन्,
तपाईंहरू जिताएर पठाउनुस्,’ देउवाले भने । माओवादीका सुदूरपश्चिम इन्चार्ज भट्ट गठबन्धनका तर्फबाट डडेल्धुराबाट प्रदेश सभा क्षेत्र १ बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् ।
