घाेराही, १४ कार्तिक । पूर्वमन्त्री एवम प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले एमालेका इमान्दार नेता कार्यकर्ताले पनि गठबन्धनलाई मतदान गर्ने बताउनुभएको छ ।
केपी ओली समूहकाे गुटले पार्टी कब्जा गरेपछि एमाले भित्रका पुराना, इमान्दार र लगनशील कार्यकर्ताहरूमाथि निषेध गर्न थालिएकाे उहाँकाे भनाई छ । “अहिले एमाले भित्रका सच्चा नेता कार्यकर्ता पाखा लाग्ने र नवप्रवेशीहरूले अवसर पाउने सृजना भएकाे छ,” शर्माले भन्नुभयाे, “केपी गुटले चुनाव जितेकाे खण्डमा एमाले भित्रका इमान्दार नेता तथा कार्यकर्ताहरूलाई अझ धेरै पाखा लगाउने काम हुनेछ,आफ्नाे राजनीतिक भविष्यका लागि भए पनि उनीहरूले हामीलाई मतदान गर्ने छन् ।”
निर्वाचनमा एमालेले प्रत्यक्षमा ८/१० सिट भन्दा बढी जित हासिल गर्न नसक्ने उहाँले ठाेकुवा गर्नुभयाे । पूर्वमन्त्री शर्माले दाङकाे समृद्धिका लागि गठबन्धनसँग स्पष्ट याेजना भएकाे समेत बताउनुभयाे ।प्रदेशसभा दाङ २ (१) का गठबन्धनका साझा उम्मेदवार राजु खनालले लाेकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन निर्माण भएकाे बताउनुभयाे । उहाँले मंसिर ४ पछि पनि एमाले पाँचै वर्ष सरकार बाहिर रहने दावी गर्नुभयाे ।
