काठमाडौं । तीर्थालु बाेकेर मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटना भएको छ ।पूर्वी नवलपरासीमा बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । पाल्पाको रम्भा गाउँपालिकाको हुँगिबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङ्गटार-२, डाँडाझेरीको मथारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परेर बसमा सवार ३५ जना मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । बाँकी ३० जना सबै घाइतेलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बस कालीगण्डकी कोरीडोरको सडकबाट १०० मिटरतल खसेको छ । घाइतेको उद्धार भइसकेकाे उनले बताए ।
उनले भने,‘ एक जनाकाे शव निकालिसकेका छाैं । अरु ४ जनाकाे शव निकाल्दै छाैं ।’ अहिले उद्धार कार्य जारी छ । उनका अनुसार दुर्घटना के भएर भएकाे भन्ने खुलेकाे छैन । प्रहरीले अनुसन्धान गर्दैछ ।दुर्घटनामा परी पाल्पाको रम्भा गाउँपालिका १ निवासी ४१ वर्षीया तारा विक, १७ वर्षीय विनयी विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जाको गल्याङ १ बेलचौर निवासी ४५ वर्षीया फूलमाया माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले जानकारी दिए।











