माफी मागेर युट्युबबाट हटाइसकेको एउटा कमेडीमाथि परेका उजुरीका आधारमा ‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिज सिंहलाई यसअघि नै १२ दिन हिरासतमा राखेर अति गरिसकेको प्रहरीले मंगलबार पुनः पक्रिएर थप अत्याचार गरेको छ ।

जमानीमा छाडिएका र आफैं हाजिर हुन आएका सिंहलाई ठूलै अपराधीजसरी फेरि पक्रिनुले प्रहरीले प्रतिशोध साधेको मात्र होइन, न्यूनतम विवेकको सम्म हेक्का नराखेको देखिन्छ । किनभने, प्रहरीको यो व्यवहारले निज अपूर्वमाथि त ज्यादती भएको छ नै

निश्चय पनि नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडी सुसंस्कृत र सभ्य समाजका निम्ति सुपाच्य थिएन होला । त्यसको अन्तर्वस्तुले सम्बन्धित समुदायलाई चोट पुर्‍याएको पनि होला । त्यही भएरै उनीहरूले प्रहरीमा उजुरी गरेका होलान् । तर उनले भूल गरेका हुन् कि अपराध ? जातिविशेषमाथि नै द्वेष वा घृणा फैलाउने उनको कुत्सित मनसाय थियो कि खालि उनले आफ्नो विषयवस्तुको संवेदनशीलता बोध गर्न नसकेका हुन् ? घटनाक्रमका आधारमा भन्न सकिन्छ— सम्बन्धित समुदायको चित्तमा ठेस पुर्‍याए पनि उनको नियत नै त्यस्तो पक्कै थिएन । कमेडीलाई बढी मनोरञ्जक बनाउने नाममा उनले सम्बन्धित समुदायको भावनाको ख्याल गर्न बिर्सिएका मात्रै हुन् । तसर्थ, यतिका भरमा मात्रै उनीमाथि ठूलो कारबाही गरिनु र लामो हिरासतमा राखी मानसिक यातना दिइनु नामुनासिब छ ।

उखान नै छ नि- मूला चोरलाई मुड्की सास्ती ! आधुनिक संहिता पनि यही हो— कसुर अनुसार सजाय । अपूर्वले जेजस्तो गल्ती गरेका हुन्, त्यसभन्दा बढी दुःख, हन्डर खेपिसकेका छन् । लामो अवधि मानिसक यातनाबाट गुज्रिसकेका छन् । फेरि, उनले आफू सही भएको जिकिर गरेका पनि छैनन् ।

अपूर्वविरुद्ध मुलुकी अपराध संहिताका सामाजिक रीतिस्थितिमा खलल पार्न नहुने, सार्वजनिक शान्ति खलल पार्न नहुने, जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने, अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने कसुरमा जाहेरी परेको थियो । यिनै आधारमा मुद्दा अघि बढाउन प्रहरीले उनलाई बुधबार अदालत लगेको थियो, प्रक्रिया नसकिएकाले बिहीबार पुनः लैजाने भनिएको छ । आशा गरौं, अदालतले यसमा पक्कै विवेक पुर्‍याउनेछ । UML Demands to Release Standup Comedian Apoorwa Kshitiz From Custody