प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधनबाट राष्ट्रले एक युग पुरुषलाई गुमाएको बताएका छन् । प्रधानमन्त्री देउवाले जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गरेका छन् ।

आइतबार किस्ट अस्पतालमा निधन भएका जोशीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा ल्याइएको थियो । प्रधानमन्त्री देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।

उनीसँगै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पनि ओढाएका थिए।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उर्जा मन्त्री पम्पा भुसाल, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ लगायत पुगेका थिए।