काठमाडौं, ३० भदौ । नेपालका दुई जिल्ला वाहेक ७५ वटा जिल्लामा डेंगु देखिएको छ । अहिलेसम्म देशभर डेंगु संक्रमितको संख्या १२ हजार नाघेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाको बुधबारसम्मको तथ्यांकअनुसार देशका ७५ वटा जिल्लामा फैलिएको डेंगुबाट १२ हजार दुई सय १७ जना संक्रमित भएका छन् । डेंगुबाट अहिलेसम्म ११ जनाको ज्यान गइसकेको छ । हाल उपत्यकासँगै तराईका जिल्लामा यसको संक्रमण तीव्र छ ।
लामखुट्यको टोकाइबाट फैलने यो रोगबाट बच्न र सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह समेत गरेको छ । डेंगुको विरामीले अहिले काठमाडौं उपत्यकासहित तराईका जिल्लाहरुका अस्पतालहरु भरिभराउ छन् ।











