काभ्रे, ३० भदौ । काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ ।

बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पहिरोमा परी ६५ वर्षकी ठूलीमाया तामाङ घाइते भएकी छन् । उनको उद्धार गरी उपचारका लागि बनेपा लगिएको प्रहरीले जनाएको छ । पहिरोमा परेका तीनै जना एकै परिवारका भनिए पनि साइनो खुलेको छैन।