काठमाडौँ, २० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ शुक्रबार बिहान करिब सवा ९ बजे श्रीमती, मन्त्रालयका कर्मचारी, सेना र प्रहरीबाट खटिएका अंगरक्षकसहित ठमेलस्थित क्यानेडियन भिसा सेन्टर पुगे । त्यहाँ सेवाग्राहीको लाइन थियो ।
मन्त्रीको टोली लाइन मिचेर अघि बढ्न खोज्यो । ड्युटीमा खटिएका सुरक्षा इन्चार्ज शेरजंग गुरुङले रोक्दै सामान्य नागरिकजस्तै लाइनमा बस्न आग्रह गरे । गुरुङ सेनाबाट अवकाशपछि गरुड सेक्युरिटिजमा आबद्ध छन् । कम्पनीले उनलाई भिसा सेन्टरको सुरक्षा इन्चार्ज बनाएर खटाएको थियो ।
सुरक्षा गार्ड गुरुङले रोकेपछि मन्त्री श्रेष्ठको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक ९सई० रवीन कार्कीले ‘उहाँ मन्त्रीज्यू हुनुहुन्छ, जान दिनुस्’ भने । प्रहरी स्रोतका अनुसार गुरुङले फेरि पनि लाइन नमिच्न आग्रह गरे । गुरुङले मन्त्री आउने पूर्वजानकारी नभएको र नियम सबैका लागि बराबर रहेको भन्दै अगाडि बढ्न दिएनन् । लाइनमा मन्त्रीभन्दा अघि भिसा आवेदक अरू व्यक्ति थिए । त्यसपछि स्थिति असहज बन्यो । लगत्तै मन्त्री श्रेष्ठ आफैं गुरुङमाथि जाइलागे । श्रीमतीले रोक्न खोजिन् तर मन्त्री रोकिएनन् ।
अगाडि बढ्दै गुरुङलाई कुनामा लगेर घेरा हाले । भिसा सेन्टरका अर्का सुरक्षा गार्ड बीचमा उभिएपछि मन्त्री श्रेष्ठले गुरुङमाथि हात हाल्न पाएनन् । त्यसको केहीबेरमा भित्रबाट मन्त्रीलाई मात्र आउन र बाँकी सबैलाई लाइनमा बस्न खबर आयो । कान्तिपुरबाट











