इन्द्रेणी संवाददाता

दाङ,१० भाद्र । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका उपकुलपति डाक्टर विकाश लामिछानेले रोटरी क्लव अफ दाङ संग सहकार्य गरेर सामाजिक काम गर्न इच्छुक भएको बताएका छन् ।

‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने परोपकारी महान उद्देश्य सहित स्थापित रोटरी क्लव अफ दाङले परोपकारी उद्देश्यले आयोजना गरेको रक्तदान कार्यक्रमका प्रमुख अतिथि रहेका लामिछानेले विश्वबाट पोलियो उन्मुलनको अभियानमा रोटरीको प्रमुख हात रहेको स्मरण गर्दै रक्तदान लगायतका थुप्रै स्वास्थ्य क्षेत्रमा पनि रोटरीले काम गरिरहेकाले यस्तो सामाजिक काम गर्दा प्रतिष्ठानले पनि सहकार्य गर्ने बताएका हुन् ।

दाङको घोराहीमा रहेको रक्त संचारका कारणले गर्दा अस्पतालमा अप्रेसन सम्भव भएको भन्दै चिकित्सा क्षेत्रलाई प्रभावकारी बनाउनका लागि रगत आवश्यक पर्ने पनि लामिछानेले बताए ।

त्यस्तै कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले रक्तदानको महत्व बुझाउन सक्ने हो भने रक्तदाताको संख्या बढ्ने बताउनुभयो । उहाँले रगत नियमित रुपमा दान गर्दा त्यसबाट हुने फाइदाका बारेमा बुझाउन सक्नुपर्ने बताए । अधिकारीले घोराहीमा रहेको रक्त संचार केन्द्रमाथि प्रतिष्ठानको यस अघिको नेतृत्वले खराव नियत राखेर हटाउन खोजेको भन्दै त्यस्तो नगर्न चेतावनी दिए  ।

सामुहिक रक्तदान कार्यक्रममा युवा युवतीहरु गरेर कुल ८१ ज्नाले रक्तदान गरेको रोटरी क्लव अफ् दाङका प्रेस संयोजक केशरमान बुढाथोकीले जानकारी दिए । रोटरी क्लवका सचिव डा. बोम विसीले संचालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक डा. आशिष उप्रेतीले स्वागत मन्तव्य राखेका थिए ।