काठमाडौँ, १ भदौ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मूल्य लगातार घटाएर इन्धन पठाए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत् राखेको छ । आईओसीले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा गरी पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाइसक्दा पनि निगमले पुरानो घाटा पूर्ति गर्न भन्दै मूल्य समायोजन नगरेको हो ।

आईओसीलाई चार महिनादेखि सम्झौताअनुसार भुक्तानी दिन नसकेको र सरकार तथा वाणिज्य बैंकबाट लिएको ऋण चुक्ता गर्नुपर्ने दायित्व रहेकाले मूल्य यथावत् राख्नुपरेको निगमले जनाएको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीका अनुसार आईओसीको नयाँ मूल्यसूचीअनुसार पनि मासिक घाटा करिब ६२ करोड रुपैयाँ छ । ‘घाटाकै कारण आईओसीलाई २३ अर्ब तिर्न सकेका छैनौं । सरकार, वाणिज्य बैंक र आईओसीलाई तिर्नुपर्ने ब्याज मात्रै मासिक १४ करोड छ । यस्तो अवस्थामा मूल्य घटाउन कसरी सम्भव हुन्छ,’ कार्यकारी निर्देशक थानीले भने ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च भइरहँदा आपूर्ति सहज बनाउन निगमले सरकारसँग ५ प्रतिशत ब्याजदरमा ५ वर्षका लागि ७ अर्ब ऋण लिएको थियो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकसँग ३ अर्ब ऋण लिएको छ । वाणिज्य बैंकले भने ९ प्रतिशतका दरले ३ महिनाका लागि ऋण दिएको हो । ‘ब्याजसँगै ऋण पनि समयमै चुक्ता गर्नुपर्ने दायित्व छ,’ कार्यकारी निर्देशक थानीले भने, ‘अब फेरि मूल्य घटेर आए समायोजनका लागि सोच्न सकिन्छ ।’

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकै कारण गत वर्ष करिब ५० अर्ब नोक्सानी भएको जनाएको छ । पुरानो घाटा पूर्तिसँगै मूल्य समायोजन हुन नसक्नुको अर्को कारण सरकारले कर समायोजन नगरिदिनु हो कान्तिपुरमा खबर छ। अर्थ मन्त्रालयले पूर्वाधार कर शीर्षकबाट जेठको शोधभर्ना दिए पनि असारको दिएको छैन । जेठमा १० दिन बराबरको करिब ५९ करोड शोधभर्ना थियो । असारमा १ अर्ब ९३ करोड रुपैयाँ थियो । निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थमा प्रस्ताव गरे पनि उक्त रकम पाएको छैन ।