काठमाडौं, १ भदौ । सिट बाँडफाँडको मुख्य आधार केलाई मान्ने भन्ने विषयमा पाँचदलीय कार्यदलमा मतभेद देखिएको छ । कांग्रेसले ०७९ को स्थानीय तह निर्वाचनको परिणामलाई मुख्य आधार बनाएर बाँडफाँड गर्नुपर्नेमा जोड दिएको छ । तर, माओवादीसहित गठबन्धनका अन्य चार दलले ०७४ को संघ र प्रदेशको निर्वाचन परिणामलाई मुख्य आधार बनाएर जानुपर्ने मत राखेका छन् । कार्यदलमा सहमति जुट्न नसकेपछि शीर्ष नेताहरूसँग परामर्श गरेर बाँडफाँडको प्रारम्भिक प्रस्ताव बनाउने जिम्मा संयोजक कृष्ण सिटौलालाई दिइएको छ ।

बुधबार कार्यदलको बैठक बस्दै छ, तर मंगलबार रातिसम्म कसले कति सिट पाउने भन्ने संख्या मात्र होइन, आधार र मापदण्ड पनि टुंगिएको छैन । तालमेलमा सिट बाँडफाँडका आधारलाई लिएर कांग्रेस र अन्य चार दलबीच मतभेद देखिएको एक सदस्यले बताए । बाँडफाँडको मुख्य आधार तय हुन नसक्दा दलहरूले सिटमाथि औपचारिक दाबी पनि पेस गरेका छैनन् ।

०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेस गठबन्धनमा रहेका दलहरूले जितेका सबै सिट छाड्न तयार छैन । तर, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा ०७४ मा प्रत्यक्षतर्फका जितेका सिट उही पार्टीले पाउनुपर्ने अडानमा छन् । कांग्रेसले पछिल्लो स्थानीय निर्वाचन परिणामलाई मुख्य र ०७४ को निर्वाचन परिणामलाई सहायक आधार बनाउन सकिने बताएको छ । त्यसमा अन्य चार दल सहमत छैनन् । उनीहरू ०७४ को संघ र प्रदेशको तथा ०७९ को स्थानीय तह निर्वाचन परिणामलाई मुख्य आधार बनाएर जानुपर्ने पक्षमा छन् ।

‘सिट बाँडफाँडको मुख्य आधारलाई लिएर दलहरूमा एकरूपता देखिएको छैन, जसले गर्दा कसले कति सिट पाउने भन्ने पनि टुंगिन सकेको छैन,’ कार्यदलका एक सदस्यले भने । तर, ०७४ मा एकीकृत समाजवादी निर्वाचन नलडेकाले उसको हकमा अलग्गै मापदण्ड बनाउन भने दलहरू सहमत छन् ।

‘०७४ को निर्वाचनलाई आधार मान्दा प्रत्यक्षतर्फ कांग्रेस माओवादीभन्दा पछाडि छ । तर, उसले धेरै सिट दाबी गर्न खोजेको छ,’ कार्यदलका अर्का एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘माओवादी दोस्रो हुने दाउमा छ । उसले पनि आफ्नो अनुकूलता हेरिरहेको छ ।’

मापदण्डको विषय टुंगोमा पुग्न नसकेपछि कार्यदलका संयोजक सिटौलाले शीर्ष नेतासँग छलफल गरी चुनावी तालमेलको सिट बाँडफाँडसम्बन्धी प्रस्ताव बनाउने जिम्मा पाएका छन् । सोमबार बसेको कार्यदल बैठकले तालमेलको आधार र मापदण्डसहितको सिट बाँडफाँड प्रस्ताव ल्याउन संयोजक सिटौलालाई जिम्मा दिएको थियो । नयाँ पत्रिकाबाट